पूर्वाधार वाच, काठमाडौं ।
चीनमा बनेका विद्युतीय सवारी साधन ९इभी० ले यस वर्ष युरोपेली बजारको एक चौथाई हिस्सा ओगट्ने भएका छन् ।
यस वर्ष चिनियाँ इभीहरुले युरोपका स्थानीय कम्पनीहरुको बिक्री खोस्ने नीतिगत अध्ययन गर्ने संस्था ‘ट्रान्सपोर्ट एन्ड इन्भारोमेन्ट’ को विश्लेषणलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।
सन् २०२४ मा युरोपमा बिक्री हुने प्रत्येक ४ मध्ये १ इभी चीनमा निर्मित हुने अध्ययनले देखाएको हो ।गत वर्ष युरोपेली युनियनमा बिक्री भएका करिब १९.५ प्रतिशत ब्याट्री कारहरु चीनमा उत्पादन भएका थिए । यसमा एमजी र बीवाइडी जस्ता चिनियाँ स्वामित्वमा रहेका ब्रान्डहरु र अमेरिकी समूह टेस्लाले आफ्नो सांघाई प्लान्टबाट निर्मित इभीहरु पनि समावेश छन् ।
चिनियाँ स्थानीय उत्पादकहरुले स्थापित युरोपेली ब्रान्डहरुबाट बजार हिस्सा खोस्न जारी राखेका कारण उक्त प्रतिशत सन् २०२४ मा बढेर २५.३ प्रतिशत हुने अध्ययनले देखाएको छ ।
त्यसो त, टेस्ला, बीएमडब्लु, रेनोलगायत धेरै पश्चिमी उत्पादकहरुले चीनमा इलेक्ट्रिक कारहरु बनाएर युरोपमा आयात गर्दै आएका छन् ।
तर चिनियाँ ब्रान्डकै इभीले मात्रै यस वर्ष युरोपेली इलेक्ट्रिक कार बजारको ११ प्रतिशत हिस्सा र सन् २०२७ सम्ममा २० प्रतिशत हिस्सा ओगट्ने देखिएको छ ।
बीवइडीलगायत चिनियाँ ब्रान्डहरुले सन् २०१९ मा युरोपेली इभी बजारको ०.४ प्रतिशत हिस्सा ओगटेकामा सन् २०२३ सम्ममा बढाएर ८ प्रतिशत पुर्याइसकेका छन् ।चीनमा निर्मित सस्ता इभीहरुले आफ्नो बजार खाइदिने डर युरोपका स्थानीय इभी निर्माताहरुमा बढ्न थालेको छ ।
यसैक्रममा, युरोपले स्थानीय सहुलियतका कारण चीनमा बनेका इलेक्ट्रिक कारहरुले युरोपेली मोडलहरुको व्यापार कम गरेको छ कि छैन भनेर अनुसन्धानलाई अन्तिमरुप दिने तयारी गरेको छ ।
यस अनुसन्धानबाट युरोपले चीनमा बनेका कारहरुमा भन्सार वृद्धि गर्ने देखिन्छ । हाल ६ प्रतिशत रहेको भन्सर दर २० प्रतिशत पुर्याउने तयारी भएको छ ।
जसले चिनियाँ कारहरु महँगो बनाउने र युरोपेली ब्रान्डहरुको प्रतिस्पर्धी क्षमता पनि बढाउने विश्वास गरिएको छ । भन्सार दरको वृद्धिले युरोपेली आयोगलाई ६ अर्ब डलर थप राजस्व पनि आम्दानी हुने अनुमान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्