पूर्वाधार वाच, पोखरा ।
पोखराको पर्यटन बजारमा भारतीय पर्यटकको सङ्ख्या उच्च रहेको अवस्थामा भारतमा हुन गइरहेको लोक सभा चुनावले गर्दा पोखराको पर्यटनमा कमी आएको छ ।
भारतमा अत्यधिक गर्मी सुरु हुनासाथ भारतीय पर्यटक नेपाल भ्रमण आउने र त्यसमा पनि पोखरा उनीहरूको रोजाइमा पर्ने गरेको थियो । चैतदेखि असारसम्म उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक आउने गरेकोमा यही अप्रिल १७ बाट सुरु भएको लोक सभाको चरणबद्ध निर्वाचनले पोखराको पर्यटन बजार प्रभावित भएको छ ।
वाराहीघाटको आरतीमा सामेल भएकी भारतको महाराष्ट्रकी अमृता पाटिलले आफूलाई निर्वाचनभन्दा पनि नेपाल घुम्न मन भएर आएको बताए । उनले पोखरा निकै राम्रो रहेको सुनाए । आफ्ना धेरै साथीले निर्वाचनका कारण नेपालको भ्रमण हाललाई स्थगित गरेको अर्का भारतीय पर्यटक सुभाष श्रीवास्तव बताउँछन् ।
एकातर्फ सहासिक पर्यटकको हिस्सा भारतीय पर्यटकले लिइरहेको अवस्थामा धार्मिक पर्यटक जसमा मुक्तिनाथसम्म पुग्ने पर्यटकमध्येमा पनि भारतीय पर्यटकको सङ्ख्या नै अधिक हुने गरेको टार्भल एसोसियसन पोखराका अध्यक्ष धर्मराज पन्थीले बताए। निर्वाचनमा कतिपय भारतीयका लागि सरकारी तवरबाटै सीमानाकामा हुने सुरक्षा बन्दका कारण पर्यटकहरू प्रभावित भएको पन्थीको भनाइ छ ।
अहिलेको यो समयमा भारतबाट बालबच्चा र परिवारसहित पोखरा घुम्न आउने भएकाले यहाँको पर्यटन बजारलाई केही चलायमान गराउँदै आएको थियो । झन्डै दुई हप्ताको समयमा भारतीय पर्यटकको सङ्ख्या ह्वात्तै घटेपछि यहाँका होटल, रेष्टुराँलगायत अन्य क्षेत्रमा प्रभाव परेको अर्का पर्यटन व्यवसायी बच्चुराम तिवारीले जानकारी दिए।
वरपिपल होटलका सञ्चालक जित गुरुङले अघिल्ला वर्षमा यो मौसममा भारतीय पर्यटकले भरिभराउ हुने होटल निर्वाचनका कारण प्रभावित भएको बताउँछन् । अहिले आफ्नो होटलमा १० प्रतिशत मात्र भारतीय पर्यटक रहेको बताउँछन् ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवं पर्यटन व्यवसायी वासु त्रिपाठीले पोखरामा आन्तरिक र बाह्य गरी वार्षिक १५ लाखभन्दा बढी पर्यटक आउने गरेकोमा चारदेखि पाँच लाखको सङ्ख्यामा भारतीय पर्यटक रहेका हुन्छन् भने तेस्रो मुलुकबाट आउनेको सङ्ख्या ३० प्रतिशत रहने बताए ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिए पनि पोखरा आउने पर्यटकका लागि हवाई टिकट महँगो हुनु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसक्नु र लुम्बिनीदेखि नारायणगढ र मुग्लिङदेखि पोखरासम्मको सडक समयमै निर्माण हुन नसक्नु पोखराका पर्यटन क्षेत्रका लागि अर्को दुर्भाग्य भएको पर्यटन व्यवसायी गणेश भट्टराईको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्