पूर्वाधार वाच, काठमाडौं ।
कैलालीको टीकापुरदेखि डोटी, अछाम, बाजुरा र बझाङको उत्तरी सीमा ताक्लाकोटसम्म जोड्न सेती लोकमार्ग लामो समयदेखि निर्माणाधीन छ । सुदूरपश्चिमको विकास र समृद्धिसँग जोडिएको महत्वाकांंक्षी सडकका रूपमा रहेको याे लोकमार्गले पर्याप्त बजेट नपाएको पटक पटक गुनासो आउने गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले सेती लोकमार्गका लागि स्पष्ट छुटिने गरी
‘फिगर’मा बजेट छुट्याएको छैन ।
यद्यपि एकमुष्ट रूपमा विभिन्न आयोजनाको लागि भन्दै भेरी कोरिडोर, तमोर कोरिडोर, महाकाली कोरिडोर, सेती लोकमार्ग र सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकको स्तरोन्नतिको शीर्षकमा कोरिडोरतर्फ ३ अर्ब ८६ करोड विनियोजन गरेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।
तर यसमा सेती लोक मार्गको लागि बजेटमा कति रकम छुट्याइएको हो भन्ने खुलेको छैन । सेती लोक मार्गको निमार्णमा झण्डै १३ अर्ब लाग्ने अनुमान छ । तर हालसम्म निर्माण प्रगति भने पनि सन्तोषजनक हुन सकेको देखिँदैन ।
सेती लोक मार्ग निर्माण सम्पन्न भए सुदूरपश्चिम प्रदेशको विकास र पर्यटकीय क्षेत्रमा समेत टेवा पुर्याउने देखिन्छ ।
यो लोकमार्ग सम्पन्न भए नेपालको चार धाम मध्येको वैद्यनाथ धाम क्षेत्र, जडीबुटीको प्रचुर सम्भाव्यता रहेको क्षेत्र, खप्तडको प्रवर्द्धन तथा सहज पहुँच हुनेछ । यस्तै भारतबाट मानसरोवर क्षेत्रमा जाने तिर्थयात्रीहरुलाई पनि सहज हुने अपेक्षा गरिएकाे छ। तर राज्यको निरन्तर उपेक्षामा पर्दै आएको सेती लोकमार्ग बन्ने सुदूरपश्चिमेलीको सपना भने कहिले पुरा हुने हो यस्तै भन्न सकिने अवस्था छैन ।










प्रतिक्रिया दिनुहोस्