डडेल्धुरा–कुशल र प्रभावशाली नेतृत्वसँगै संस्थागत विकासमा प्रतिबद्ध कर्मचारी संयन्त्रले कटिवद्ध भएर काम गर्न सकेमा सिमित स्रोत साधन र छोटो समयमै सार्वजनिक निकायहरुलाई सेवाग्राहीमैत्री बनाउन सकिन्छ भन्ने उदाहरण पेश गरेको छ, मालपोत कार्यालय डडेल्धुराले ।
प्रशासनिक खर्च अर्थात, चालुतर्फको बजेट न्युन बिनियोजन हुने मालपोत कार्यालय डडेल्धुराले बिभिन्न निकायहरुसँग समन्वय सहकार्य गरेर कार्यालयलाई छोटो समयमै सेवाग्राहीमैत्री बनाएको छ । कार्यालयको संस्थागत विकासमार्फत चुस्त दुरुस्त सेवा प्रवाह गरिरहेको मालपोत कार्यालय डडेल्धुराले सुशासन प्रवद्र्धनमा सुधार ल्याउँदै पारदर्शिता र जवाफदेहिता बढाउने कृयाकलाप बढाउँदै सेवाग्राहीमैत्री वातावरण बनाएको छ ।
कार्यालयमा अडियो–भिडियो सिसी क्यामेरा जडान गरेर कर्मचारीको कार्य सम्पादनमा सुधारसँगै निगरानी बढाइएको र इन्र्भटर जडान गरेर विद्युत नभएका बेला पनि निरन्तर सेवा प्रवाह भइरहेको कार्यालय प्रमुख कमलापति भट्टले जानकारी दिए । उनका अनुसार सिसी क्यामेरा जडान गरिएपछि सेवा प्रवाह सहज, नियमित, मर्यादित र अनुशासित भएको छ भने पटक पटक विद्युत अवरुद्ध हुँदा सेवाग्राहीले निकै सास्ती खेप्नु परेकाले इन्र्भटर जडान गरिएको हो ।
बजेट अभाव भए पनि कार्यालयको संस्थागत विकासका लागि सदरमुकामस्थित अमरगढी नगरपालिकासहित कार्यक्षेत्रमा रहेका पाँच वटै स्थानीय तह र बिभिन्न संघ संस्थाहरुको सहयोगमा कार्यालयमा आवश्यक उपकरण जडान, मर्मत सम्भार र संरचनाहरु निर्माण गरिएको कार्यालय प्रमुख भट्टले जानकारी दिए ।
सेवाग्राहीलाई सहजरूपमा कार्यालयभित्रको काम कारवाही र जिम्मेवार ब्यक्तिको बारेमा जानकारी गराउने उदेश्यले नागरिक बडापत्रसँगै कार्यालयको मूल गेटमा कर्मचारीको फोटो, नाम, पद, जिम्मेवारी र सम्पर्क नम्बर राखिएको छ ।
कार्यालयमा आउने सेवाग्राहीका लागि प्रतिक्षालयमा एलइडी टिभीमार्फत सेवा सम्बन्धि सूचना प्रवाह, शुद्ध पिउने पानी व्यवस्थापन, शौचालय र प्रतिक्षालय व्यवस्थापन गरिएको कार्यालयका कम्युटर अप्रेटर इन्द्रसिँह भाटले जानकारी दिए ।
सेवा प्रवाहका क्रममा सेवाग्राहीबाट बारम्बार गुनासा आउन थालेपछि कार्यालयले सेवा प्रणालीलाई पारदर्शी, प्रभावकारी र प्रविधिमैत्री बनाउने प्रयास गरिरहेको कार्यालय प्रमुख भट्टले बताए ।
कार्यालयको भौतिक पुर्वाधार विकास, सूचना प्रविधि र उपकरण जडानसँगै सेवाग्राहीमैत्री सेवाप्रवाह गर्न कर्मचारीहरुको दक्षता अभिवृद्धी सम्बन्धि कार्यक्रमहरु कार्यान्वयन गरिएको छ ।
जग्गा कारोबार बढि हुने भित्रिमधेस क्षेत्रका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाले हाल जोगबुडास्थित मालपोत कार्यालयबाट सेवा लिइरहेकाले जिल्लाको पहाडी क्षेत्रका पाँच स्थानीय तहमा मालपोत कार्यालय डडेल्धुरा मार्फत सेवा प्रवाह हुने गरेको छ ।
गत आर्थिक बर्ष २०८१/०८२ मा तीन सय ९४ लिखित पारित, एक सय २६ नामसारी, दुई सय ४४ रोक्का, ३५ संसोधन, तीन सय फुकुवा, एक सय चार प्रतिलिपी र चार वटा दाखा लगायत सेवाप्रवाह गरेर मालपोत कार्यालय डडेल्धुराले झण्डै एक करोड ५० लाख रुपैयाँ राजश्व असुली गरेको छ ।
असुल गरिएको कुल राजश्वमध्ये ६० प्रतिसत सम्बन्धित स्थानीय तहले र ४० प्रतिसत प्रदेश सरकारले पाउने प्रावधान छ ।
सेवा शुल्क र पुँजीगत लाभकरवाफतको झण्डै ३० लाख रुपैयाँ राजश्व संघीय सरकारलाई दाखिला गरिएको कार्यालयले जनाएको छ ।
गत आर्थिक बर्षमा सशस्त्र प्रहरी बलको सादनी स्थित वीओपी, कर कार्यालय डडेल्धुरा, अमरगढी बहुउदेश्यीय व्यापारिक भवन र डडेल्धुरा अस्पतालका लागि सरकारी जग्गा प्राप्ती उपयोग प्रमाण पत्र उपलब्ध गराइएको र दुई जना सेवाग्राहीको छुट जग्गा दर्तासँगै भूमि आयोगको काम पनि निरन्तर रुपमा सम्पादन गरिएको कार्यालयप्रमुख भट्टले जानकारी दिए ।
सेवाग्राहीलाई सहज हुनेगरी भूसेवा केन्द्रको दररेट निर्धारण गरिएको पारदर्शी रुपमा काम गर्न भूसेवा केन्द्र सञ्चालकहरुलाई अभिमुखीकरण गरिएको कार्यालयले जनाएको छ ।
मालपोत कार्यालय डडेल्धुरामा तीन वटा भूसेवा केन्द्र दर्ता भई सेवाप्रवाह गरिरहेका छन । ‘छोटो समयमै मालपोत कार्यालय डडेल्धुराको मुहार फेरिएको छ,’ भागेश्वर–४ का सेवाग्राही चन्द्रसिँह ठकुराठीले भने, ‘सेवाग्राहीलाई सहज रुपमा सेवा उपलब्ध गराउन मालपोत कार्यालय डडेल्धुराले गरेको प्रयासबाट अन्य सार्वजनिक निकायहरुले पनि सिक्न जरुरी छ ।’
सेवाप्रवाहमा सुधारसँगै कार्यालयमा कार्यरत कर्मचारीहरुको कार्यशैली र व्यवहारमा पनि निकै सुधार आएको सेवाग्राहीहरु बताउछन । सेवाग्राहीलाई केन्द्रमा राखेर निस्वार्थ किसिमले कामकाज गर्न चाहेमा छोटो समयमै थुप्रै सुधार ल्याउन सकिने स्थानीय बताउछन ।










प्रतिक्रिया दिनुहोस्