पूर्वाधार वाच, महेन्द्रनगर।
महाकाली नदीमा निर्माणाधीन ४ ‘लेन’को पुलको काम ५ महिनापछि पुनः सुरु भएको छ। निर्माण कम्पनीले बाँकी काम ६ महिनाभित्र सक्नेगरी सुरु गरेको बताएको छ।
२०७४ मा निर्माण सुरु भएको पक्की पुलसँगै ८.६ किलोमिटर ६ लेन सडक निर्माणको ९०.१९ प्रतिशत रकम खर्च भइसकेको छ।
निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापत ८ करोड ५० लाख रकम हालै कम्पनीलर् पाएको बताए।
इन्जिनियर पाण्डेयले पुलसँगै निर्माण हुने पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागमा पुर्याउने प्रक्रियामा रहेको जानकारी दिए।
‘भेरिएसनका कारण अझै १५ करोड रुपैयाँ बक्यौता छ,’ उनले भने, ‘गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौँ।’ उनले ८.६ किलोमिटर ६ लेनको पहुँचमार्गमध्ये १ हजार ५ सय मिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताए।
‘रकम अभाव नभए ६ महिनाभित्र पुलको सबै काम सकिन्छ,’ इन्जिनियर पाण्डेयले भने, ‘पुलको लागत ३ अर्ब ६६ करोड रुपैयाँ हो।’
पुलको दुवैतर्फ बाँध बाँधेर पर्यटकीयस्थल हुनेगरी पोखरी निर्माण हुनेछ। पुलको उत्तरतर्फ एक वर्गकिलोमिटरभन्दा ठूला दुईवटा पोखरी र दक्षिणतर्फ ०।३ वर्गकिलोमिटरका दुईवटा पोखरी निर्माण गरिएका छन्।










प्रतिक्रिया दिनुहोस्