images
images

सातै प्रदेशमा निर्यात गृह खोल्न निजी क्षेत्रको माग

पूर्वाधार वाच, काठमाडौं।

नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा निर्यात गृह खोल्न सरकारसँग माग गरेको छ। स्थानीय उत्पादनको प्रर्वद्धन हुनेगरी सातै प्रदेशमा निर्यात गृह खोल्न चेम्बरले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग माग गरेको हो।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारी सम्मिलित टोलीले मन्त्री भण्डारीसँग भेट गर्दै निर्यात गृहको अवधारणा अविलम्ब लागू गरिदिन आग्रह गरेको हो।

‘स्थानीय उत्पादनहरुको एकीकृत प्रवर्द्धन, बजारीकरण एवं गुणस्तर मापनपछि एकद्वार प्रणालीमार्फत निर्यात गर्न सातै प्रदेशमा निर्यात गृह खोल्न आवश्यक छ,’ चेम्बरले मन्त्रीसँगको भेटपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै रेमिट्यान्सबाट भित्रिने रकम उत्पादनमूलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्न पनि चेम्बरले माग गरेको छ।

रेमिट्यान्सको करिब ९० प्रतिशत उपभोगमै खर्च भइरहेको सन्दर्भमा चेम्बरले अर्थतन्त्रको विस्तारमा योगदान गर्नेगरी उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाउन आग्रह गरेको हो।

अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको भन्दै चेम्बरले संसद्मा विचाराधीन आर्थिक विधेयकहरु तत्काल पारितका लागि पहल गर्न पनि चेम्बरले आग्रह गरेको छ।

सरकारले वैशाख तेस्रो साता अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी गरिरहँदा विदेशी लगानीका लागि कतिपय ऐन नियम बाधक रहेकाले समयमै समस्या हल गर्न पनि चेम्बरले आग्रह गरेको छ।

वर्तमान समयमा कालोबजार ऐन २०३२का कतिपय प्रावधानहरु असान्दर्भिक भएकाले समयसापेक्ष सुधार गर्न पनि चेम्बरले आग्रह गरेको छ।

स्थानीय स्रोतमा आधारित खनिजजन्य रत्नपत्थर, जडीबुटी एवं वनजन्य उद्योगमा आवश्यक कानुन बनाएर निर्यात प्रवर्द्धन गरिनुपर्ने चेम्बरले उल्लेख गरेको छ। एकद्वार प्रणालीमा आधारित स्थायी संयन्त्रमार्फत बजार अनुगमन गर्न पनि चेम्बरले आग्रह गरेको छ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बजार अनुगमनका नाममा व्यवसायीले अनावश्यक दुख पाइरहेकाले उद्योगी व्यवसायीलाई पहिला सुन्ने अनि मात्रै कानुनी प्रक्रियामा जान पनि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्