images
images

कच्चा पदार्थ अभावमा कैलालीका १३७ साना उद्योग बन्द

पूर्वाधार वाच, कैलाली।

कैलालीमा सञ्चालित १३७ वटा घरेलु तथा साना उद्योग कच्चा पदार्थको अभावमा बन्द भएका छन्। कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन्।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन्। यद्यपि पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्यरूपमा बढ्दै गएको पाइएको छ।

महिलाको नाममा निजी फर्म दर्तामा छूटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको छ। कैलालीमा हालसम्म १५ हजार ४३४ उद्योग दर्ता भएका छन्। जिल्लामा दर्ता भएका उद्योगमध्ये १३७ उद्योगको दर्ता खारेज गरिएको छ।

हालसम्म उत्पादनमूलक ३ हजार १ सय ९४, कृषि ६ हजार ४ सय ८८, निर्माणतर्फका २, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक ५ हजार ६ सय ७३ गरी १५ हजार ४३४ उद्योग दर्ता भएका छन्। साना उद्योग कार्यालयमा दर्ता भएका १५ हजार ४३४ उद्योगमा २५ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग’ कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

कार्यालयका अनुसार दर्ता भएका उद्योगमा ९ हजार १२० महिला र ६९ हजार ६११ पुरुषले रोजगारी प्रस्ताव गरिएको जनाइएको छ।

यसैगरी गत आर्थिक वर्ष २०७९र८० मा सो कार्यालयले ५२ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। चालु आव २०८०र८१ को फागुनसम्म १ करोड ५ लाख रुपैयाँ राजस्व संकलन भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्