पूर्वाधार वाच, काठमाडौं ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रक्राउले निजी क्षेत्रको मनोबल घटाएको निजी क्षेत्रका तीन वटा संस्थाले जनाएका छन् ।
बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाइको मौका दिनुपर्ने माग राखेको हो ।
उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरूका कुरा सुनिदिनुपर्ने उल्लेख गर्दै थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न तीन वटै संगठनले सरकारलाई आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘मुलुक अहिले आर्थिक संकटको अवस्थाबाट माथि उठिसकेको छैन । अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकूल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्ताहरूलाई आग्रह पनि गरिएको छ । यस अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खलबलिन दिनु हुँदैन ।’
कुनै पनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरूलाई हतोत्साहित गरेर लगानीको वातावरण बन्न नसक्ने संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
देशभित्रका सानादेखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता रहेकाले यस बेला उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नुपर्ने निजी क्षेत्रको माग छ ।










प्रतिक्रिया दिनुहोस्