images
images

१० औद्योगिक क्षेत्रमा ७५ अर्ब ६६ करोड बराबरको लगानी, कसको कति ?

पूर्वाधार वाच, काठमाडौं ।

चालु आर्थिक वर्षको फागुनसम्ममा विभिन्न १० औद्योगिक क्षेत्रमा ७५ अर्ब ६६ करोड रूपैयाँभन्दा बढीको लगानी भएको छ।

आर्थिक सर्वेक्षण २०८१ अनुसार २०८० को फागुनसम्म १० औद्योगिक क्षेत्रमा नेपाल सरकारबाट ५५ अर्ब ३४ करोड ५० लाख र निजी क्षेत्रबाट २० अर्ब ३१ करोड ५१ लाख गरी ७५ अर्ब ६६ करोड एक लाख बराबरको लगानी भएको छ।

चालु आर्थिक वर्ष २०८० फागुनसम्म ६ हजार १६ रोपनी जग्गामा सञ्चालनमा रहेका १० औद्योगिक क्षेत्र भित्र कायम रहेका सात सय तीन उद्योगमध्ये छ सय १९ उद्योग सञ्चालनमा छन्। ६२ उद्योग निर्माणाधीन र २२ बन्द छन्।

सञ्चालनमा रहेका उद्योगबाट १९ हजार एक २८ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। यस्ता उद्योगबाट वार्षिक २० अर्ब बराबरको राजस्व संकलन हुने अनुमान छ।

हरेक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने नीतिअनुसार २०८० फागुनसम्म कोशी प्रदेशको दमक(झापा, बागमती प्रदेशको मयुरधाप-हेटौंडा तथा शक्तिखोर-चितवन, लुम्बिनी प्रदेशको मोतिपुर-रूपन्देही, लक्ष्मीपुर-दाङ तथा नौबस्ता-बाँके र सुदूरपश्चिम प्रदेशको कञ्चनपुर-दैजी गरी ७ औद्योगिक क्षेत्र घोषणा भई प्रारम्भिक कार्य अगाडि बढेको उल्लेख गरिएको छ।

ग्रामिण क्षेत्रमा उद्यम सिर्जनामा टेवा पुर्‍याउन औद्योगिक ग्रामलाई रूपान्तरणकारी आयोजनाको रूपमा अगाडि बढाइएको छ। सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य रहेकोमा २०८० फागुनसम्म एक सय २० स्थानीय तहमा एक सय २० औद्योगिक ग्राम घोषणा भई निर्माणाधीन रहेका छन्।

भैरहवा विशेष आर्थिक क्षेत्रमा २०८० फागुनसम्म करिब चार अर्ब ७२ करोडको लगानीमा २४ उद्योग सञ्चालनमा रही दुई हजार चार सय २९ व्यक्तिले रोजगारी प्राप्त गरेका छन्।

चालु आर्थिक वर्षको फागुनसम्म यस क्षेत्रमा एक अर्ब ३१ करोड लगानीमा थप ७ उद्योग सञ्चालन गर्न अनुमति दिइएको र उद्योग सञ्चालनबाट चार सय ९९ थप रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।

सिमरा विशेष आर्थिक क्षेत्रमा २०८० फागुनसम्म करिब पाँच अर्ब ५९ करोडको लगानीमा २७ उद्योग सञ्चालनमा रही चार हजार तीन सय ७४ व्यक्तिले रोजगारी प्राप्त गरेका छन्।

चालु आर्थिक वर्षको फागुनसम्म यस क्षेत्रमा २३ करोड ५७ लाख लगानीमा थप तीन उद्योग सञ्चालन गर्न अनुमति दिइएको र उद्योग सञ्चालनबाट छ सय ७६ थप रोजगारी सिर्जना भएको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्