बैतडी– पाटन नगरपालिकाले नगरभित्रका १७ माध्यमिक विद्यालयमा खेलकुद सामग्री वितरण गरेकाे छ ।
विद्यार्थीलाई किताबसँगै खेलमैदानतर्फ पनि आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले विद्यालयहरूलाई खेलकुद सामग्री वितरण गरेको हो ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम ‘युवासँग नगर उपप्रमुख’ अन्तर्गत सोमबार सामग्री हस्तान्तरण गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्यालका अनुसार यो कार्यक्रमले विद्यालयस्तरमै खेलकुद संस्कृतिलाई बलियो बनाउने लक्ष्य राखेको छ ।
कार्यक्रममा नगर उपप्रमुख कमलसिंह बोहराले खेलकुद विद्यार्थीको शारीरिक विकास मात्र नभई अनुशासन, आत्मविश्वास र नेतृत्व विकासको आधार भएको उल्लेख गरे ।
“खेलकुद सामग्रीको अभावले कुनै पनि बालबालिका खेलबाट टाढा नबसुन् भन्ने हाम्रो चाहना हो,” उनले भने ।
विद्यालयहरूले विद्यार्थीको रुचि र आवश्यकता अनुसार सामग्रीको प्रयोग गर्दै खेल क्षेत्रलाई जीवन्त बनाउने अपेक्षा नगरपालिकाले गरेको छ ।










प्रतिक्रिया दिनुहोस्