पूर्वाधार वाच, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। संखुवासभा मकालु– ५ को आमराङस्थित अरुण–३ जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा उनले सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए।
‘यस आयोजनाबारे मैले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जानकारी लिँदै आएको छु। सन् २०१४ नोभेम्बर २५ मा परियोजना विकास सम्झौतामा हस्ताक्षर भई हाल निर्माणाधीन अवस्थामा छ,’ प्रधानमन्त्री दाहालले भने, ‘हाल परियोजनाको उत्पादनतर्फ ७४।०९ प्रतिशत र प्रसारण लाइनतर्फ ३७।९५ प्रतिशत भौतिक प्रगति भएकामा खुसी लागेको छ।’
आयोजना निर्माणपछि देशको विद्युत् व्यापारमा महत्त्वपूर्ण योगदान हुने विश्वास प्रधानमन्त्री दाहालले व्यक्त गरे। ‘यस परियोजनाका लागि आवश्यक जग्गा प्राप्तिलगायत आवश्यक सहयोग र सहजीकरण गर्दै निर्धारित समयमै आयोजनाको बाँकी काम सम्पन्न गर्न म सम्बन्धित पक्षलाई निर्देशन दिन्छु,’ उनले भने।
प्रधानमन्त्री दाहालले अघिल्लो महिना आफूले काठमाडौं–नौबिसे सुरुङमार्ग र बहुद्देश्यीय मरिन डाइभर्सन परियोजनाको ‘ब्रेक थ्रु’ गरेको स्मरण गर्दै राष्ट्रिय प्राथमिकताका आयोजनाहरूको अनुगमन र जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट श्रव्यदृश्यका माध्यमबाट लिइरहेको जानकारी दिए। उक्त कार्यालयबाट आयोजना निर्माणमा देखिएको समस्या पहिचान गरी समाधानका निम्ति आवश्यक सहजीकरण हुँदै आएको उनले बताए।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले यस आयोजनाबाट उत्पादन हुने नौ सय मेगावाट विद्युतसहित राष्ट्रिय प्रणालीको विद्युत् क्षमता चार हजार पाँच सय मेगावाट पुर्याइने बताए।










प्रतिक्रिया दिनुहोस्