images
images

बैतडीका समाजसेवी प्रेम भाटलाई मस्तिष्कघात, सबैलाई सहयाेगकाे अपिल

बैतडी-  जिल्ला समन्वय समिति (जिसस) बैतडीका वर्तमान सदस्य तथा समाजसेवी प्रेम सिंह भाटलाई काठमाडौँमा तालिमकै क्रममा मस्तिष्कघात (ब्रेन स्ट्रोक) भएको छ।

हाल उहाँको अवस्था गम्भीर रहेको र काठमाडौं मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल (KMC) को HDU युनिटमा उपचाररत रहनु भएको छ।

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रद्वारा आयोजना गरिएको संस्थागत नेतृत्व विकास तालिम मा सहभागी हुन भाट माघ १० गते काठमाडौँ आइपुग्नु भएको थियो।

देशभरका सबै प्रदेशबाट करिब १०० भन्दा बढी सहभागी रहेको उक्त तालिम माघ ११ गतेदेखि २६ गतेसम्म सञ्चालन भइरहेको छ।

भाट पाटन नगरपालिका वडा नं. ९ स्थित श्री ओखलेश्वर बहुउद्देश्यीय कृषि सहकारी संस्था लि. को प्रतिनिधित्व गर्दै तालिममा सहभागी हुनु भएको थियो।

तालिमका प्रारम्भिक दिनहरू सामान्य र सहज रूपमा बितिरहेका बेला माघ २२ गते बिहान करिब ८ः३० बजे घाम ताप्दै साथीहरूसँग कुराकानी गरिरहेका भाटलाई अचानक हाछ्युँ आयो र रिङ्गटा लागी ढल्न लाग्नु भएको थियो।

संगैका तालिम सहभागीहरूको सहयोगमा उहाँ ढल्नबाट जोगिनु भयो। त्यसपछि तत्काल उहाँलाई सिभिल अस्पताल भर्ना गरिएको थियो।

सिभिल अस्पतालमा CT Scan र MRI जस्ता आवश्यक परीक्षण सुविधा उपलब्ध नभएकाले आफन्त, इष्टमित्र तथा साथीभाइको सहयोगमा उहाँलाई थप उपचारका लागि KMC मा स्थानान्तरण गरिएको हो।

अस्पतालमा गरिएको CT Scan र MRI परीक्षणपछि उहाँको दिमागमा रगत जमेको र मस्तिष्कघात भएको पुष्टि भएको छ।

अवस्थाको जटिलतालाई मध्यनजर गर्दै अस्पतालले आवश्यक परे थप उपचारका लागि भारत लैजानुपर्ने अवस्था आउन सक्ने जनाएको छ। साथै, मस्तिष्कघातसम्बन्धी थप रगत परीक्षण नेपालमा उपलब्ध नभएकाले परीक्षणका लागि नमुना भारत पठाइएको उहाँका भान्जा बिरेन्द्र बिष्ट ले जानकारी दिनुभयो।

भाट सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्व हुनुहुन्छ। उहाँ नेपाल पत्रकार महासंघ बैतडी शाखा तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष समेत रहनु भएको छ।

हाल पनि उहाँ ६/७ वटा संघ–संस्थामा सक्रिय जिम्मेवारी सम्हाल्दै आउनु भएको छ।

उहाँसँग नजिकबाट काम गरेका सहकर्मीहरूका अनुसार समाज रूपान्तरण र सामाजिक सद्भावका लागि निरन्तर संघर्ष गर्ने प्रेरणादायी व्यक्तित्वका रूपमा भाट परिचित हुनुहुन्छ।

सानै उमेरदेखि आफ्नै बुबाबाट सामाजिक कार्य र मानव सेवा नै सत्कर्म हो भन्ने प्रेरणा पाएका भाटले झण्डै २४ वर्षभन्दा बढी समय सामाजिक सेवामा समर्पित गरेको छरछिमेकी बताउँछन्।

उहाँको संलग्नतामा गाउँठाउँमा खानेपानी, बिजुली, सडक, मठमन्दिर निर्माण तथा स्तरोन्नति भएका उदाहरण प्रशस्तै छन्। हाल पनि उहाँ दुई वटा सामुदायिक विद्यालय, एक प्रस्तावित बहुमुखी क्याम्पस, एक सहकारी संस्था, दुई वटा मन्दिर र एक गैरसरकारी संस्थाको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ।

भाटसँगै तालिममा सहभागीहरूलाई चार समूहमा विभाजन गरिएको थियो। सोही क्रममा मकालु समूह का सहभागी र प्रशिक्षकहरूले स्वस्फूर्त रूपमा १५ हजार रुपैयाँभन्दा बढी रकम संकलन गरी अस्पतालमै पुगेर आर्थिक सहयोग गरेका छन्।

आर्थिक सहयोगबारे प्रतिक्रिया दिँदै भाटले भन्नुभयो,
“जीवनको झण्डै चार दशक सामाजिक क्षेत्रमा बिताएँ। यस्तो अवस्था आउला भनेर कहिल्यै सोचिनँ। अहिले धेरै आफन्त, साथीभाइ, इष्टमित्रले फोन, सन्देश र प्रत्यक्ष भेटेर सान्त्वना दिइरहनु भएको छ, सबैप्रति हृदयदेखि धन्यवाद छ। यदि कसैले स्वस्फूर्त रूपमा आर्थिक, भौतिक वा नैतिक सहयोग गर्न चाहनुहुन्छ भने म अस्वीकार गर्दिन। यहाँहरुकै साथ, सहयोग र आशीर्वादले अझै बाँच्ने आशा राखेको छु।”
समाजसेवी भाटको शीघ्र स्वास्थ्यलाभको कामनासहित देशभरका शुभेच्छुक, सहकर्मी र नागरिकहरू चिन्तित बनेका छन्।

प्रतिक्रिया दिनुहोस्