बैतडी– बैतडीमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान गर्न विशेष अभियान सञ्चालन भइरहेको छ।
देशव्यापी अभियानअन्तर्गत जिल्लाका ८४ वटै वडामा स्वास्थ्यकर्मीहरू खटिएर बालबालिकाको पोषण लेखाजोखा गरिरहेका छन्।
स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टका अनुसार वैशाख १५ गतेदेखि सुरु भएको अभियानअन्तर्गत हालसम्म ७ हजार ९६ जना बालबालिकाको जाँच गरिएको छ।
जाँच गरिएका बालबालिकामध्ये ४ सय ८ जनामा कुपोषण देखिएको छ। तीमध्ये ७३ जनामा कडा शीघ्र कुपोषण तथा ३ सय ५५ जनामा मध्यम शीघ्र कुपोषण फेला परेको छ।
स्वास्थ्य कार्यालय प्रमुख तिर्थराज भट्टका अनुसार जिल्लाभर १६ हजार ४ सय २७ जना बालबालिकाको पोषण लेखाजोखा गर्ने लक्ष्य राखिएको छ।
अभियानको मुख्य उद्देश्य कुपोषित बालबालिकाको पहिचान गरी उनीहरूलाई उपचार तथा व्यवस्थापनको दायरामा ल्याउनु रहेको उनले बताए।
अभियानका क्रममा बालबालिकाको पाखुराको नाप, उचाइ र तौल परीक्षण गरिन्छ। पाखुराको नाप ११५ मिलिमिटरभन्दा कम भएका बालबालिका कडा शीघ्र कुपोषणको सूचीमा पर्छन् भने ११५ देखि १२५ मिलिमिटरभन्दा कम नाप भएका बालबालिका मध्यम शीघ्र कुपोषणको सूचीमा पर्ने गरेका छन्।
यसका साथै उचाइअनुसार तौल भए/नभएको परीक्षणसमेत गरिन्छ। उचाइअनुसार पर्याप्त तौल नभएका बालबालिकालाई पनि कुपोषित सूचीमा समावेश गरिने गरिएको छ।
वैशाख ३० गतेसम्म सञ्चालन हुने यस अभियानपछि जिल्लामा कुपोषित बालबालिकाको वास्तविक संख्या यकिन हुने र त्यसपछि उनीहरूको उपचार तथा व्यवस्थापनका कार्यक्रम अघि बढाइने स्वास्थ्य कार्यालयले जनाएको छ।
अभियानअन्तर्गत बालबालिकासँगै सुनौलो हजार दिनका आमाहरूको पोषण अवस्थाको समेत लेखाजोखा भइरहेको बताइएको छ।








प्रतिक्रिया दिनुहोस्