बैतडी — जनचेतनाको अभाव र पर्याप्त परीक्षण नहुँदा बैतडी जिल्लामा क्षयरोग (टीबी) को जोखिम बढ्दै गएको छ।
चालु आर्थिक वर्षमा ८७ जना नयाँ क्षयरोगी फेला परेका छन।
स्वास्थ्य कार्यालय बैतडीका अनुसार नयाँ संक्रमितमध्ये ६६ जना पुरुष र २१ जना महिला रहेका छन्।
५३८ जनामा परीक्षण गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म २०३ जनामा मात्रै परीक्षण गरिएको छ। सीमित परीक्षणमै उच्च संख्यामा संक्रमित भेटिनुले समुदायमा अझ धेरै बिरामी लुकेर रहेको संकेत गरेको सरोकारवालाहरू बताउँछन्।
स्वास्थ्य कार्यालय प्रमुख तीर्थराज भट्टका अनुसार विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी क्षयरोग पहिचान अभियानलाई तीव्र बनाउने प्रयास भइरहेको छ। सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिकामा ‘क्षयरोगमुक्त पालिका अभियान’ सञ्चालनमा रहेको छ।
मंगलबार विश्व क्षयरोग दिवस का अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले क्षयरोग नियन्त्रणमा जनचेतना अभाव नै मुख्य चुनौती भएको औंल्याएका छन्।
समयमै परीक्षण, नियमित उपचार र समुदायस्तरमा सचेतना फैलाउन नसकिए रोग नियन्त्रण कठिन हुने उनीहरूको भनाइ थियो।
विश्व स्वास्थ्य संगठन का अनुसार नेपालमा हरेक वर्ष करिब ६७ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन्।
यसले क्षयरोग अझै पनि देशको प्रमुख जनस्वास्थ्य समस्यामध्ये एक रहेको देखाउँछ।
‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नारासहित मनाइने विश्व क्षयरोग दिवसले रोगविरुद्धको लडाइँमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश दिएको छ।









प्रतिक्रिया दिनुहोस्