images
images

डहरे देउराली, अन्धाअन्धी दहको पर्यटन प्रवर्द्धन

पूर्वाधार वाच, गण्डकी ।

कस्केली अधिकृत समाजले स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।

समाजको वार्षिक कार्यक्रमअनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिदै आएकोमा यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानलाई समेटिएको कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले बताए ।

डहरे देउराली र अन्धाअन्धी दह धार्मिक आस्था एव विश्वासका कारण पनि प्राचीन कालदेखि चर्चामा आएका तीर्थस्थल हुन् । समुद्र सतहदेखि दुई हजार दुई सय ५० मिटर उचाइमा रहेको डहरे देउराली प्राचीन धर्मग्रन्थमा पनि उल्लेख भएको तीर्थस्थल हो ।

अठार पुराणमध्येको स्कन्द पुराणमा नीलगिरि पर्वत, सिद्धेश्वर महादेव र कालीशक्ति डहरेको नाम उल्लेख भएको श्री मोक्षद्वारी बाल सिद्ध योगाश्रममा पीठाधिश पशुपत्यानन्द गिरीजी महाराजले जानकारी दिए । उनका अनुसार परापूर्वकालमा यहाँ डहरा नाम गरेका ऋषिले तपस्या गरेको उल्लेख छ।

डहरा ऋषिले तपस्या गरेको स्थान भएकाले यसको अपभ्रंश भई डहरे हुन गएको यहाँका स्थानीयवासी बताउँछन् । विसं १९९७ मा तत्कालीन पर्वतको लुङ्खुुका षडानन्द अधिकारी ९बालब्रह्मचारी० पहराभित्र बसेर तपस्या गर्नुुभएको थियो । विशेषगरी नवदुर्गा, शिवरात्रि, बाला चतुर्दशीजस्ता चाडपर्वसहित हरेक मङ्गलबार र शनिबारका दिन यहाँ ठूलो संख्यामा दर्शनार्थी आउने गर्दछन् ।

अग्लो स्थानमा अवस्थित भएकोले यहाँबाट स्याङ्जाका अधिकांश भाग सहित पर्यटन राजधानी पोखरा र आसपासका कुस्मा, बाग्लुङलगायत जिल्लाका बजार, हिमशृङ्खलाहरु, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य नाङ्गो आँखाले देख्न सकिन्छ ।

यहाँको धार्मिक पर्यटकीय सम्भावनालाई उजागर गर्न पूर्वाधार विकाससँगै प्रवद्र्धनलाई फलेवास नगरपालिकाले उच्च प्राथमिकतामा राखेको नगरपालिकाका प्रमुुख गंगाधर तिवारी बताउँछन्। यहाँको प्रवद्र्धन र विकासका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ ।

पर्यटन प्रवद्र्धनकै क्रममा आँधिखोला गाउँपालिका वडा नं २ मा पर्ने अन्धाअन्धी दहको पनि प्रवद्र्धनात्मक भ्रमण गरिएको कस्केली अधिकृत समाजका सचिव महेश पौडेलले जानकारी दिए । अन्धाअन्धी दह श्रवणकुमारको ऐतिहासिक कथासँग सम्बन्धित छ ।

किंवदन्ती अनुसार आफ्ना दृष्टिविहिन बाबाआमालाई खर्पनमा बोकेर तीर्थाटन गराउन हिडेका क्रममा बाबाआमालाई तिर्खा लागेछ । नजिकै पानी नपाएपछि एउटा गुफामा राखेर पानी खोज्न जाँदा तलाउमा पानी भर्ने क्रममा राजा दशरथको वाण लागेर श्रवणकुमारको मृत्यु भएछ । आफ्ना छोराको मृत्युको वियोगले रोएका तिनै बाबाआमाको आँखाबाट सो दह बनेको विश्वास गरिने स्थानीय समाजसेवी लेखनाथ पौडेलले जानकारी दिए।

दुईतर्फ कडा चट्टानसहितको पहाडको बीचमा रहेको दह, ओडारभित्र रहेको श्रवणकुमारका बाबाआमाको मूर्ति आदि यहाँका आकर्षण हुन् । यस ठाउँमा विशेषतः बालाचतुर्दशीका बेला ठूलो मेला लाग्ने पौडेलले जानकारी दिए ।

डहरे देउराली, अन्धाअन्धी दह लगायत यहाँ आसपासका धेरै पर्यटकीय गन्तव्य प्रवद्र्धनको पर्खाइमा रहेको साविक कार्किनेटा गा.वि.स. वडा नं १ साहुुथर निवासी समाजसेवी घनश्याम शर्मा पौडेल बताउँछन् ।

‘नेपालका वाइसे चौवीसे राजाको समयमा पर्वते राजाको दरबारका अवशेष यहाँस्थित ठूली भीरको शीरमा अहिले पनि देख्न सकिन्छ’, उनले भने, ‘यहाँ आसपासका बाघपाइला, किराको खोर, ठूली भीर आदिको प्रवद्र्धन गरी पर्यटनसँग जोड् सकिने धेरै सम्भावना रहेका छन् ।’

प्रवर्द्धन भ्रमणकै क्रममा डहरे देउरालीमा समाजले प्रकाश गरेको नयाँ वर्ष २०८१ को वार्षिक भित्ते पात्रो लोकार्पण गरिनुुका साथै यस क्षेत्रको धार्मिक पर्यटकीय विकासका लागि समाजका तर्फबाट र सदस्यहरूको स्वतस्फूर्त सहयोग स्वरुप संकलित २५ हजार ५५० रुपैयाँ श्री मोक्षद्वारी बाल सिद्ध योगाश्रम डहरे देउरालीका अध्यक्ष दीपक श्रेष्ठलाई हस्तान्तरण गरिएको समाजका सचिव महेश पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्