images
images

बैतडीकाे सुर्नयामा सहमति उल्ट्याएर शासन, तालाबन्दी गर्ने जेन्जीकाे चेतावनी

बैतडी– बैतडीको सुर्नया गाउँपालिकामा ५ महिना अघि गरिएको ११ बुँदे सहमति कार्यान्वयन नगरेपछि गाउँपालिकाप्रति तीव्र असन्तुष्टि चुलिएको छ।

३९ दिनसम्मको तालाबन्दीपछि गरिएको सहमति अहिले कागजमै सीमित भएको भन्दै जेन्जी समूह आक्रोशित बनेको छ।

जेन्जी समूह र गाउँपालिकाबीच भएको ११ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै पुनः विवाद चर्किएको छ।

करिब ५ महिना अघि ३९ दिनसम्मको तालाबन्दीपछि सहमति भएको भए पनि उक्त निर्णयहरू अझै कार्यान्वयनमा नआएको समूहको आरोप छ।

उनीहरूका अनुसार सहमति विपरीत केही निर्णयहरू उल्ट्याइएका छन् भने केही विषय पूर्ण रूपमा बेवास्ता गरिएको छ।

जेन्जी नेता विशाल भट्ट का अनुसार गाउँपालिकाले सहमति कार्यान्वयन गर्नुको सट्टा केही निर्णयहरू उल्ट्याएर जनतालाई झुक्याउने काम गरेको छ।

करार कर्मचारी व्यवस्थापन, अनावश्यक नियुक्ति रोक्ने, युवामुखी बजेट तथा खेलमैदान निर्माणजस्ता विषयहरू अझै अलपत्र रहेको उनको भनाइ छ।

उनले गाउँपालिकालाई औपचारिक पत्रमार्फत तत्काल सहमति कार्यान्वयन गर्न अन्तिम चेतावनी दिइएको जानकारी दिए।

माग पूरा नभए चैत ११ गतेदेखि  तालाबन्दी सहित    कडाखालकाे चरणबद्ध आन्दोलन सुरु हुने उनले स्पष्ट पारे।

भट्टका अनुसार अबको आन्दोलन केवल दबाबका लागि नभई जवाफदेहिता सुनिश्चित गर्ने निर्णायक कदम हुनेछ।

“सहमति गरेर कार्यान्वयन नगर्ने प्रवृत्ति अब सह्य हुँदैन,” उनले चेतावनी दिए।

साथै, अब बस्ने कार्यपालिका बैठकमा यो विषय अनिवार्य रूपमा उठाउनुपर्ने माग गर्दै, बेवास्ता गरिए उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी गाउँपालिकाले नै लिनुपर्ने कडा सन्देश दिइएको छ।

प्रतिक्रिया दिनुहोस्