images
images

बैतडी सहित सुदूरपश्चिममा गौरा पर्व शुरु, आज बिरुडा भिजाइँदै

बैतडी – सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सुरु भएको छ । बैतडी सहित सुदूरपश्चिममा  बिधिबध रूपमा आजबाट गा‌ैरा पर्व  शुरु भएकाे हाे । पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झाना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।

यो बर्ष भाद्र कृष्ण पक्षमा गौरा परेको छ । भाद्र कृष्ण पञ्चमीबाट गौरापर्व शुरु भई गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली मनाइने गरिन्छ ।

पञ्चमीका दिन बिरुडा भिजाउने, षष्ठीका दिन बिरुडा धुने, सप्तमीका दिन गौरा भित्र्याउने र अष्टमीका दिन गौरा खलामा लगेर अठ्यावाली मनाउने प्रचलन रही आएको छ ।

तिथी घटबढ भएका कारण बिरुडा धुने र गौरा भित्र्याउने तिथी एकैदिन परेकाले धोइ गौरा मनाउनेहरुले भदौ ८ गतेबाट गौराको शुरुवात गर्ने  छन् भने बाटा गा‌ैरा मनाउनेले आज बिरुडा भिजाउँदै छन् ।  बाटा गाैरा मनाउने ठाउँमा आज  बिरुडा भिजाउने, ८ गतेका दिन धुने, ९ गतेका दिन  गौरा भित्र्याउने ज्याेतिष लबदेव भट्टले बताए ।   भदौ १० गतेका दिन गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली परेको उनले  बताए ।

धोइ गौरा मनाउनेहरुले भदौ ८ गतेबाट गौराको शुरुवात गर्ने  छन् ।  धाेई गाैरा मनाउनेहरुले  ८ गतेका दिन बिरुडा भिजाउने, भदौ ९ गतेका दिन बिरुडा धुने र गौरा भित्र्याउने ज्याेतिष गणेश प्रसाद पन्तले बताए । याे वर्षकाे गाैरामा कुनै विवाद नरहेकाे र भदौ १० गतेका दिन गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली परेको उनले  बताए ।

गौरा पर्वको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाउने गर्दछन। ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको हाे ।

गौरापर्व सुदूरपश्चिमको मौलिक चाड हाे । याे  पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गरेका छन् ।

यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाउँ  छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।

गाैरा पर्वकाे समयमा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत लगायतका खेलहरु पनि खेल्ने चलन रही आएकाे  छ ।

प्रतिक्रिया दिनुहोस्