बैतडी– बैतडीका समाजसेवी युवा विष्टले रास्वपाकाे केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि बैतडीका समाजसेवी युवा बिर बहादुर विष्ट (विनोद) ले उम्मेदवारी दिएका हुन।
सुदूरपश्चिम प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका विष्ट लामो समयदेखि रोजगारीका सिलसिलामा भारतमा बस्दै आए पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका छन्।
विभिन्न सामाजिक तथा मानवीय गतिविधिमार्फत जनतामाझ लोकप्रिय छवि बनाएका विष्टले पार्टीभित्र युवाको नेतृत्व विकास, संगठन सुदृढीकरण र सुदूरपश्चिमका जनताका मुद्दालाई केन्द्रीय तहसम्म पुर्याउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।
सुर्नया गाउँपालिका २ ग्वानी घर भएका विष्टले आफू पार्टीको सिद्धान्त, सुशासन, पारदर्शिता र नागरिक उत्तरदायित्वका पक्षमा दृढ रहेको उल्लेख गर्दै सुदूरपश्चिमको प्रतिनिधित्व अझ प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको बताए।
उनले पार्टीका प्रतिनिधि तथा सदस्यहरूलाई आफ्नो पक्षमा समर्थन गर्न समेत आग्रह गरेका छन्।
बैतडीबाट केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने आकांक्षासहित मैदानमा उत्रिएका विष्टको उम्मेदवारीलाई सुदूरपश्चिमका युवा तथा रास्वपा कार्यकर्ताहरूले चासोका साथ हेरिरहेका छन्।
सामाजिक सेवामार्फत जनविश्वास कमाएका विष्टले केन्द्रीय सदस्यमा जित हासिल गरे सुदूरपश्चिमको आवाजलाई थप सशक्त रूपमा उठाउने अपेक्षा गरिएको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा जारी रहेको छ, जहाँ देशभरका प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढाइरहेका छन्।








प्रतिक्रिया दिनुहोस्