बैतडी- बैतडी सहित सुदूरपश्चिममा आज ठुली गाैरा मनाइँदै छ । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाले विशेष दिनको रुपमा लिने गरेका छन् । व्रतालु महिलाले बिहानै नुवाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रहिआएको छ आज अमूक्ताभरण सप्तमीका दिन व्रतालु महिला एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रहिआएकाे छ ।गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर व्रतालु महिलाले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गरिएको छ । व्रतालु महिलाले धारण गर्ने विशेष प्रकारको धागो अर्थात दुबोधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।
आजको गौरादेवीमा चढाएको दुबोधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठाबालीका दिन व्रतालु महिलाले धारण गर्ने गर्दछन् ।
गौरापर्वको मुख्य दिन आज सप्तमीको दिनमा गौरा र महेश्वरको पूजा गरी व्रतालु महिलाले राति मिठोमसिनो खाना खाने चलन छ । गौराको मुख्यदिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।
पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ ।त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।










प्रतिक्रिया दिनुहोस्