images
images

बैतडीकाे पिउने पानीमा काेलिफर्म,शुद्धीकरण गरेर मात्र पिउन आग्रह

बैतडी- बैतडीकाे पिउने पानीमा काेलिफर्म भेटिएकाे छ ।

जिल्लाका पिउने पानीका मुहानमा  मानव स्वास्थ्यका लागि हानिकारक दिसामा देखिने जीवाणु ’कोलिफर्म’ भेटिएको हाे ।

जिल्लामा रहेका नाै पालिकाबाट लिएको १६४ वटा नमुना परीक्षणमा ३८ वटामा ‘कोलिफर्म’को कीटाणु देखिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएकाे छ ।

९ ओटा स्थानीय तहका विभिन्न स्थानमा रहेका मूहानबाट जाँचका लागि नमूना संकलन गरि परीक्षण गर्दा काेलिफर्म भेटिएकाे स्वास्थ्य कार्यालयका ल्याब असिष्टेन्ट धर्मानन्द बडूले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य कार्यालयले जेठ र असारमा नियमित रुपमा प्रयोग भइरहने मूहानबाट नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गरेको थियो ।

सबैभन्दा धेरै पुर्चाैडी नगरपालिकाका खानेपानीका मुहान दुषित रहेको पाइएको छ । ३२ ओटा नमूना संकलन गरी परीक्षण गर्दा १५ मा कोलिफर्म भेटिएको हो ।

पाटनमा १३ मध्ये ९, सिगासबाट १५ ओटा नमूना संकलन गरि परीक्षण गर्दा ७ मुहानमा कोलिफर्म भेटिएको छ ।

यस्तै दशरथचन्दमा ४ मध्ये १, दोगडाकेदारमा २१ मध्ये १, डिलाशैैनीमा ६ मध्ये १, पञ्चेश्वरमा १६ मध्ये १, मेलौलीमा ३७ मध्ये २ र सुर्नयमा २० मध्ये १ मा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

नियमित रुपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना संकलन गरि परिक्षण गर्दा दिसामा हुने किटाणु कोलिफर्म भेटिएको बताइएकाे छ ।

पानीको मूहान, इन्टेक र धाराहरू फाेहाेर हुँदा काेलिफर्म भेटिन थालेकाे भन्दै स्वास्थ्यकर्मीहरुले नियमित सरसफाइ गर्न सबैलाई आग्रह गरेका छन् ।

दुषित पानीको प्रयोगले झाडापखाला, टाइफाइड, हैजा र आउँजस्ता विभिन्न सरुवाको रोगको संक्रमण बढ्ने भएकाले पानीलाई छान्ने, उमाल्ने वा अन्य विधिबाट शुद्धीकरण गरेर मात्र पिउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्