गोकर्ण दयाल
भोट बैतडीका नेतालाई दिए पनि जग्गाको मालपोत तिर्न डडेलधुरा जिल्ला धाउनुपर्ने बाध्यता विशालपुरवासीले भोग्दै आएका छन् ।
बैतडीको मेलौली नगरपाकिला–८ को सिङ्गो वडाका पाँच सयभन्दा बढी घरपरिवार २०३२ सालदेखि जग्गाको मालपोत कर तिर्न डडेलधुरा धाउँदै आएका छन् ।
तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका–८ मा पर्ने साबिकको विशालपुर गाविसका ३, ४, ५ र ६ नम्बर वडाका घरपरिवार जग्गाको मालपोत कर डडेलधुराको भागेश्वर गाउँपालिका–३ को वडा कार्यालयमा बुझाउँदै आएको वडा अध्यक्ष तपेन्द्र विष्टले बताए ।
गणतन्त्र आइसकेपछि स्थानीय तहको पुनर्संरचना हुँदा पनि यो झन्झट कायमै रहेको स्थानीयवासीले दुखेसो पोखेका छन् ।
वडावासीको मतदाता नामावली बैतडीमै छ । हरेक निर्वाचनका बेला बैतडीकै उम्मेदवारलाई भोट दिँदै आए पनि जग्गाको कर र कारोबारका लागि डडेलधुरा धाउनुपर्ने बाध्यता रहेको मेलौलीका स्थानीय युवा महेशदत्त भट्टले गुनासो गरे ।
त्यो गुनासो लिएर स्थानीय पीडितहरू आफ्नो जनप्रतिनिधि बैतडीको प्रदेश सभा ‘ख’ बाट निर्वाचित शिवराज भट्टलाई लिएर काठमाडौँ गएका छन् ।
मेलौलीका स्थानीय नगरपालिकाको सिफारिससहित प्रदेश सभा सदस्यलाई लिएर उनीहरू सङ्घीय राजधानी काठमाडौँ पुगेका छन् ।
उनले यो पटक गृहमन्त्री रमेश लेखकलाई भेटेर यहाँको वस्तुस्थितिबारेमा जानकारी गराएको बताए ।
प्रदेश सभा सदस्य भट्टलाई साथमा राखेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको उहाँले बताए ।
मालपोतको स्रेस्ता बैतडीमा कायम गरिदिन मुख्य माग रहेको उहाँले बताउनुभयो । बैतडीकै भूगोलमा बसेर पनि वडाको लालपुर्जाको स्रेस्ता डडेलधुराको भएका कारण विशालपुरका किसानले कर तिर्न, कृषि फर्म दर्ता गर्न, चार किल्ला प्रमाणित गर्न झन्झट बेहोर्नु परेको उहाँको गुनासो छ ।
२०३२सालमा डडेलधुरा जिल्लाबाट विशालपुर गाविसलगायत तल्लोस्वराड क्षेत्रका १३ गाविस बैतडीमा गाभिदा विशालपुर गाविसका चार वटा वडाको मालपोतको स्रेस्ता डडेलधुरामै छुटेका कारण दशकौँदेखि बैतडीबाट डडेलधुरा मालपोतमा कर बुझाउनु परेको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्