बैतडी- बैतडी सहित सुदूरपश्चिममा गाैरा पर्वकाे राैनक छ । गौराको दोस्रो दिन, आज ‘नानी गौरा’ मनाइँदै छ ।
भाद्र कृष्ण षष्ठीको दिन नानी गौरा मनाउने चलन छ । हिजो पञ्चमीका दिन विधिवत् भिजाइएका बिरूडालाई आज षष्ठीका दिन व्रतालु महिलाहरू गाउँकै पवित्र जलासयमा गएर फाग र माङल गाउँदै बिरूडा पखाल्ने काम गरिरहेका छन् ।
गौरा पूजाका लागि प्रयोग हुने अक्षता र प्रसाद स्वरूप संकलित बिरूडालाई एउटा पवित्र ताम्रपत्र, पित्तल वा उपलब्ध भाँडामा एकसाथ मिलाएर मांगलिक पूजाआजाका साथ हिजो व्रतालु महिलाहरूबाट बिरूडा भिजाउने काम भएको थियो ।
नानी गौराको दिन वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई पानीको मुहान, धारा तथा तलाउमा लगेर पूजाआजा गर्ने गरिन्छ ।
आजकै दिन फाग, धमारी चाचरी, सगुना, डेउडालगायतका गीत गाउनुका साथै खेल खेल्ने चलन पनि छ । सप्तमीको दिन गौरालाई गौरा घरमा भित्र्याउने गरिन्छ । त्यो दिन व्रतालु महिलाहरूले साँझ गौरा घरमा गौराको पूजा गर्ने चलन छ ।
अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गल गानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । पाँच दिनसम्म गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, डेउडाजस्ता गीत गाउने र डेउडा खेल्ने चलन छ ।
पौराणिक कालमा हिमालयपुत्री पार्वतीले ‘महादेवलाई पति पाउँ’ भनेर बालुवाको शिवलिङ्ग बनाएर कष्टसाध्य तपस्यापश्चात् बरदान पाएर शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यता छ ।
सोहीअनुसार गौरा पर्व मनाइँदै आइएको पाइन्छ । भगवान् शिव र पार्वतीको पूजा आरधना एवं व्रत अनुष्ठानबाट सुस्वास्थ्य एवं शौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।










प्रतिक्रिया दिनुहोस्