images
images

आज ‘ठूली गौरा’ मनाइँदै

बैतडी- सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ‘ठूली गौरा’ मनाइँदैछ ।
व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् ।

स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाले विशेष दिनको रुपमा लिने गरेका छन् ।

व्रतालु महिलाले बिहानै नुवाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रहिआएको छ ।

 

आज अमूक्ताभरण सप्तमीका दिन व्रतालु महिला एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रहिआएको छ ।
गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर व्रतालु महिलाले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गरिएको छ ।
व्रतालु महिलाले धारण गर्ने विशेष प्रकारको धागो अर्थात दुबोधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।
यसका साथै साँझको समयमा व्रतालु महिलाले कुण्ड स्नान गर्ने चलन रहिआएको छ ।
आजको गौरादेवीमा चढाएको दुबोधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठाबालीका दिन व्रतालु महिलाले धारण गर्ने गर्दछन् ।
आज  सप्तमीको दिनमा गौरा र महेश्वरको पूजा गरी व्रतालु महिलाले राति मिठोमसिनो खाना खाने चलन छ ।
गौराको मुख्यदिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।
पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ ।
त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।

तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारण गर्ने चलन छ ।

 

प्रतिक्रिया दिनुहोस्