images
images

सार्वजनिक विद्यालयमा संख्या बढ्यो, गुणस्तर कहाँ हरायो?

दया कृष्ण जोशी

सुदूरपश्चिमका गाउँ–बस्तीमा आज विद्यालयहरू पुगेका छन्।

विद्यालय भवन छ, शिक्षक छन्, पुस्तक नि:शुल्क छ।

तर एक गम्भीर प्रश्न उठ्छ—बच्चाहरूले वास्तविक रूपमा सिकिरहेका छन् कि छैनन्?

यी वर्षहरूमा सरकारले विद्यालयको संख्या र पहुँच त बढायो। तर गुणस्तर भने अझै खोइ?
यही विसंगतिले नेपालको शिक्षा प्रणालीमा गहिरो संकट देखाइरहेको छ।

विद्यालय धेरै, तर सिकाइ कमजोर किन?

१. शिक्षक उत्तरदायित्व कमजोर
सरकारी विद्यालयका शिक्षकको जागिर सुरक्षित छ।
तर विद्यार्थी कति सिके, कति बुझेन—त्यो मूल्यांकन गर्ने स्पष्ट प्रणाली छैन। कक्षाकोठामा शिक्षा होइन, समय बिताउने चलन बढ्दै गएको देखिन्छ।

२. राजनीति विद्यालयभित्रै पस्यो
शिक्षक सङ्गठन, पार्टी समिति, सिफारिस, सरुवा–बढुवा—सब राजनीति जोडिएको छ। विद्यालय चलाउनुपर्ने समिति नै राजनीतिक प्रभावमा चल्दा विद्यार्थी मुख्य विषय होइन, साइड लाइन पर्छन्।

३. रटान र परीक्षा–मुखी पढाइ
कति बुझियो भन्दा पनि कति कण्ठ गरियो भन्नेमा ध्यान।
बोर्ड परीक्षामात्र लक्ष्य, बुझाइ, सीप, प्रश्न गर्ने क्षमता विकास हुने वातावरण छैन।

४. अभिभावकको चासो घट्दै
कामकाज, परदेश, आर्थिक बोझ लगायतका विवसताले गर्दा धेरै परिवारले विद्यालयसँग नियमित सम्पर्क राख्न सक्दैनन्।
विद्यालयलाई जनताको साझा उत्तरदायित्व बनाउने काम कम छ।

५. सक्षम विद्यार्थीहरू निजी विद्यालयतिर सरे
थोरै कमाइ भए पनि  अभिभावकले निजी विद्यालय नै रोज्छन
किनकि सीप र भविष्य प्रति विश्वास त्यहीं रोज्छन । यसले सरकारी विद्यालयको सिकाइ वातावरण झनै कमजोर बनाउछ्।

अब के गर्नुपर्छ?
१) शिक्षकको कामको मूल्यांकन कक्षा–भित्रै
कागज होइन, कक्षामा कस्तो सिकाइ भयो?
त्यसको आधारमा प्रोत्साहन वा सुधार कार्यक्रम।

२) विद्यालयलाई राजनीति–मुक्त वातावरण
विद्यालय शिक्षा दिने ठाउँ हो,
पार्टीको शाखा समिति होइन।

३) विद्यार्थी सहभागी सिकाइ
• समूह कार्य
• स्थानीय उदाहरण
• समस्या समाधान अभ्यास
यी सिकाइहरू गाउँमै गर्न सकिन्छ।

४) अभिभावक–विद्यालय नियमित भेटघाट
महिना–महिनामा सिकाइ छलफल बैठक अनिवार्य।

५) कक्षा १–३ मा आधार बलियो
बोल्न, पढ्न, लेख्न, गणना—
यही जुनियर आधार कमजोर भयो भने,
भविष्यको शिक्षा सधैं कमजोर रहन्छ।

सुदूरपश्चिमका लागि किन यो अझै महत्त्वपूर्ण छ?

सुदूरपश्चिममा
• धेरै अभिभावक परदेशमा छन्
• घरमा सिकाइ सहयोगका अवसर कम
• निजी विद्यालय सबै गाउँमा छैनन्

त्यसैले सार्वजनिक विद्यालय नै भविष्य निर्माणको मुख्य आधार हो।
यदि यिनै विद्यालय बलिया भए—
सुदूरपश्चिम जनशक्तिमा, सीपमा, आत्मविश्वासमा बलियो बन्छ।

निष्कर्ष,
विद्यालय बनाउनु मात्र उपलब्धि होइन।
विद्यालयले जीवन बनाउनु पर्‍यो।

संख्या बढेको छ,
अब गुणस्तर बचाउनु छ।

सार्वजनिक विद्यालय बलियो भयो भने
देशको भविष्य बलियो हुन्छ।
नत्र—विद्यालय हुन्छ, तर शिक्षा छैन।

नाम:दयाकृष्ण जोशी
ठेगाना:डिलाशैनि ५ बैतडी
शिक्षक: सेटीगाउँ माध्यमीक विद्यालय ककरपाखा, ब‌ैतडी

प्रतिक्रिया दिनुहोस्