बैतडी-बैतडीका समाजसेवी विष्टले नेपाली दूतावास नयाँ दिल्लीलाई ज्ञापनपत्र बुझाएका छन् ।
जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं २ ग्वानी घर भइ भारतको हैदराबादमा लामो समयदेखि बसोबास गर्दै आएका समाजसेवी विनोद बहादुर विष्टले प्रवासी नेपालीहरूले भारतमा भोग्दै आएका समस्या, चुनौती र तिनको समाधानका सुझावसहितको ज्ञापनपत्र नेपाल राजदूतावास, नयाँ दिल्लीमा बुझाएका हुन् ।
उक्त ज्ञापनपत्रलाई कार्यवाहक राजदूत (DCM)सुरेन्द्र थापाले औपचारिक रूपमा ग्रहण गर्नुभएको हो। विष्ट लामो समयदेखि प्रवासी नेपाली समुदायबीच समाजसेवा, एकता र सहयोगका कार्यमा सक्रिय रहँदै आएका छन्।
अहिले उहाँले भारतमा रहेका लाखौं नेपालीहरूले सामना गरिरहेका वास्तविक समस्याहरूको आवाज बनेर यो मुद्दा राजदूतावासमा पुर्याएका हुन्।
उनले भने हामी प्रवासी नेपालीहरू यहाँ इमानदारीताका साथ काम गर्छौं, तर कानुनी पहिचान नहुँदा धेरै समस्या झेलिरहेका छौं।
समस्याको समाधानका लागि ज्ञापनपत्र बुझाएका हाैँ, अब यो आवाज सरकारले सुन्नुपर्छ, र आवश्यक परे कानुनी बाटोबाट पनि लड्न तयार छौं।”
उक्त ज्ञापनपत्रमा आधार कार्ड नहुँदा रोजगार, बैंक खाता, उपचार र आवासमा कठिनाइ,तलबमा अन्याय, सामाजिक सुरक्षाको अभाव,असंगठित क्षेत्रमा काम गर्ने नेपालीहरूको श्रम शोषण,नेपालबाट अनियन्त्रित रूपमा भारत प्रवेश गर्ने केही व्यक्तिहरूको आपराधिक गतिविधिले नेपाली समुदायको छविमा परेको असरहरु उल्लेख गरिएका छन् ।
विष्टले नेपाली नागरिकताको प्रमाणपत्रलाई नै भारतमा नेपाली नागरिकको आधिकारिक पहिचानका रूपमा मान्यता दिलाउने पहल गर्न,यदि नेपाली नागरिकले आधार कार्ड लिन सक्ने कानुनी व्यवस्था छ भने त्यसबारे स्पष्ट जानकारी सार्वजनिक गर्न,भारतभर सञ्चालनमा रहेका नेपाली बस व्यवसायहरूलाई दर्ता र नियमनमा ल्याउन, हैदराबाद लगायत प्रमुख सहरहरूमा “नेपाली हेल्प डेस्क” स्थापना गर्न, राजदूतावास र नेपाली समुदायबीच नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न,. नेपाल–भारत सीमामा आवागमन गर्ने व्यक्तिहरूको पहिचान र भेरिफिकेशन प्रणाली सुदृढ गर्न लगायतका ६ बुदे माग अघि सारेका छन् ।
कार्यवाहक राजदूत सुरेन्द्र थापाले ज्ञापनपत्र ग्रहण गर्दै प्रवासी नेपालीहरूको हकहित र सुरक्षाप्रति राजदूतावास सधैं संवेदनशील रहेको बताउनुभयो।
उहाँले समस्या समाधानका लागि आवश्यक पहल गर्ने विश्वास दिलाउनुभयो। विष्टले यो केवल मेरो व्यक्तिगत पहल नभएकाे भन्दै लाखौं प्रवासी नेपालीहरूको सामूहिक पीडा र आवाज भएकाले सबैले मिलेर आफ्नो पहिचान र अधिकार सुरक्षित गर्नै बताए ।
हैदराबादमा रहेका नेपाली समुदायले विष्टको यो पहललाई स्वागत गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्