बैतडी– बैतडी सदरमुकाम गोठलापानीमा सम्पन्न नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को एकता सन्देश सभाले कम्युनिष्ट एकताको औचित्य र आवश्यकता स्पष्ट पारेको छ।
विभिन्न बाम धाराहरूबीच भएको एकतालाई केवल संगठनात्मक मिलन नभई जनआकांक्षा सम्बोधन गर्ने ऐतिहासिक आवश्यकता भएको नेताहरूले तर्क गरेका छन्।
सभामा सहभागी नेताहरूले विगतमा कम्युनिष्ट शक्तिहरू विभाजित हुँदा जनताको विश्वास कमजोर बनेको उल्लेख गर्दै एकतामार्फत मात्रै राजनीतिक स्थिरता, विकास र सामाजिक न्याय सम्भव हुने दाबी गरे।
उनीहरूले देशमा परिवर्तन चाहने नागरिकको चाहना पूरा गर्न वैचारिक स्पष्टता, संगठित शक्ति र साझा नेतृत्व अनिवार्य रहेको गहकिलो तर्क प्रस्तुत गरे।
नेकपा बैतडीका नेता शंकर भण्डारीका अनुसार एकता सन्देश सभा जनतामाझ पार्टीको नीति, सिद्धान्त र उद्देश्य प्रष्ट्याउने अभियानको हिस्सा हो।
“विभाजित कम्युनिष्ट आन्दोलनले जनतालाई निराश बनायो, अब एकतामार्फत भरोसा पुनःस्थापना गर्ने प्रयास भइरहेको छ,” उनले भने।
नेताहरूले एकतापछि बनेको नेकपाले विकास, सुशासन र परिवर्तनलाई व्यवहारमा उतार्ने जिम्मेवारी लिएको उल्लेख गर्दै सुदूरपश्चिमका सबै जिल्लामा यस्ता सन्देश सभा सञ्चालन गरिएका जनाएका छन्।
सभामा बरिष्ठ नेता भीम रावल, भानुभक्त जोशी, प्रकाश शाह, खगराज भट्ट, शेरबहादुर कुँवर, परमानन्द भट्ट, नरेन्द्र कुँवर, प्रेमप्रकाश भट्टलगायत नेताहरूको उपस्थिति रहेकाे थियाे ।










प्रतिक्रिया दिनुहोस्