बैतडी– बैतडी लगायत सुदूरपश्चिम प्रदेशमा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ ।
प्रदेशका ९ वटै जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ ।
आज सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ ।
आज मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ ।
घरघरबाट विभिन्न परिकार बनाउन सामग्री लिएर एक ठाउँमा जम्मा भई पकाउने र बाँडीचुँडी खाने चलनलाई यहाँ पुसे पन्ध्र भन्ने गरिन्छ ।
रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने, सुनाउने साथै गीत(सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रूपमा हेर्न सकिने भएकाले आजको दिनलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।
पुस १५ का दिन विशेषगरी तरुल, सखरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ ।
माटोमुनि उम्रिने पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने भएकाले खाने गरेको बुढापाकाहरूको भनाई छ ।
सुदूरपश्चिमको मौलिक पर्व ‘पुसे पन्ध्र’ आज पनि बुढापाकाहरूको स्मृति र सक्रियतामा टिकिरहेको छ।
मुढाको आगो, लोककथा र सामूहिक भोजको यो पर्वप्रति युवा पुस्ताको चासो भने दिनप्रतिदिन घट्दै गएको देखिन्छ।
मोबाइल, सामाजिक सञ्जाल र सहरमुखी जीवनशैलीले युवालाई परम्पराबाट टाढा बनाउँदै लगेको छ।
संस्कृतिको पुस्तान्तरण नहुँदा पुसे पन्ध्रजस्ता पर्व केवल स्मृतिमा सीमित हुने खतरा बढ्दै गएको संस्कृतिका जानकारहरुकाे भनाई छ ।


डीआर भट्ट 







प्रतिक्रिया दिनुहोस्