बैतडी – पहिरोका कारण घरवारविहीन बनेका बैतडीको सुर्नया गाउँपालिका–२ कटनोलीका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ ।
गएको भदौ १५ गते अविरल वर्षासँगै आएको पहिरोले घर बगाएपछि विस्थापित बनेका रेखा चन्द र ग्रीस चन्दलाई घर पुनर्निर्माणका लागि बैंकले जनही एक लाख रुपैयाँका दरले कुल दुई लाख रुपैयाँ सहयोग गरेको हो ।
उक्त सहयोग सतबाँझ शाखामार्फत प्रदान गरिएको शाखा प्रबन्धक गोविन्द बिष्टले जानकारी दिए ।
सोमबार सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गणेशबहादुर बिष्ट र बैंकका शाखा प्रबन्धक बिष्टले संयुक्त रूपमा पीडित परिवारलाई चेक हस्तान्तरण गरेका हुन् ।
घरवारविहीन बनेकाहरू हाल सतबाँझ क्षेत्रमा अर्काको घरमा आश्रय लिएर बस्दै आएका छन् । पीडितमध्ये रेखा चन्द एकल महिला समेत रहेकी छन् ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विपद् प्रभावित परिवारको घर पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको जनाएको छ ।
यसअघि सुर्नया गाउँपालिकाले पीडित परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको थियो भने वडा कार्यालयले जनही ५० हजार रुपैयाँका दरले कुल एक लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो ।
पहिरोले घरसँगै जग्गा समेत गुमेकाले स्थायी आवास निर्माणमा समस्या भइरहेको वडा अध्यक्ष बिष्टले बताए ।
उनका अनुसार पीडित परिवारका लागि सुरक्षित स्थानमा जग्गा खोजी कार्य जारी रहेको छ ।










प्रतिक्रिया दिनुहोस्