बैतडी — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले बैतडीले उम्मेदवार सिफारिस गरेको छ।
आइतबार बसेको जिल्ला कमिटीको बैठकले पार्टीका केन्द्रीय सदस्य दामोदर भण्डारीलाई प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो।
पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका भण्डारीलाई आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सर्वसम्मत रूपमा सिफारिस गरिएको नेकपा एमाले जिल्ला बैतडीका सचिवालय सदस्य लोकेन्द्र भण्डारीले जानकारी दिए।
उनका अनुसार जिल्ला कमिटी बैठकले भण्डारीको नाममा पूर्ण सहमति जनाएको हो।
भण्डारी यसअघि २०७० सालको संविधानसभा, २०७४ तथा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बैतडीबाट निर्वाचित भइसकेका छन्।
निरन्तर जनसमर्थन र राजनीतिक अनुभवका आधारमा पार्टीले चौथोपटक पनि उनैमाथि भरोसा व्यक्त गरेको जनाएको छ।










प्रतिक्रिया दिनुहोस्