images
images

कांग्रेस नेता जाेशीद्वारा सुदूरपश्चिमका युवाका लागि आकर्षक छात्रवृत्ति घोषणा

बैतडी– जेन–जी पुस्ताबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका युवा नेता दिपेन्द्र राज जोशीले आर्थिक रूपमा विपन्न तथा जेहेन्दार युवाहरूका लागि आकर्षक छात्रवृत्ति कार्यक्रम घोषणा गरेका छन्।

सुदूरपश्चिमको विकट जिल्ला बझाङमा जन्मिएका जोशी हाल त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञान विषयमा विद्यावारिधि अध्ययनरत छन्।

आफ्नै गाउँ–समाजमा भोगेको शैक्षिक अभावलाई आधार बनाएर उनले आर्थिक कमजोरीका कारण अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेका हुन्।

घोषणाअनुसार सुदूरपश्चिमभरिका१० जना विद्यार्थीलाई बीबीए अध्ययनका लागि ७० प्रतिशत,५ जनालाई एमबीए अध्ययनका लागि ५० प्रतिशत र ५ जनालाई बीएससी सीएसआईटी अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ।

यी छात्रवृत्तिहरू काठमाडौंको नयाँ बानेश्वरस्थित महर्षि कलेजमा अध्ययनका लागि लागू हुनेछन्।

विद्यार्थी राजनीति, संगठन निर्माण र सामाजिक सेवामा सक्रिय जोशी युवामाझ लोकप्रिय तथा मृदुभाषी नेताका रूपमा परिचित छन्।

उनले भने,“सपना धनी हुनुपर्छ, परिवार होइन भन्ने विश्वासका साथ सुदूरपश्चिमका युवाको क्षमता र सम्भावनामा गरिएको यो सार्वजनिक प्रतिबद्धता हो।”

आर्थिक अभावका कारण क्याम्पसको ढोकाबाट फर्किन नपरोस् भन्ने उद्देश्यसहित सुरु गरिएको यो पहलले शिक्षा नै सामाजिक रूपान्तरणको आधार हो भन्ने सन्देश दिएको छ।

बझाङबाट सुरु भएको यो अभियान सुदूरपश्चिमभरिका युवाका सपनासँग जोडिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्