images
images

खोड्पे–बझाङ सडक खण्डमा दुर्घटना, तीन मृतकको पहिचान खुल्यो

बैतडी– बैतडीमा भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोमबार बिहान जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ को साढीघाँटीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा बैतडीको सिगास गाउँपालिका–१ निवासी २४ वर्षीय निसान्त बोहरा, सोही ठाउँका २८ वर्षीय भानदेव भट्ट तथा डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावल रहेका छन्।

दुर्घटनामा घाइते भएका छ जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था मध्यम रहेको बताइएको छ।

सुर्नया गाउँपालिका–६ को मोतिनगरबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज २२४ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो। खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा जिप अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उक्त जिप सिगास गाउँपालिका–१ दुधिलाखान निवासी अन्दाजी ३० वर्षका गणेश बिष्टले चलाइरहेका थिए।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्