बैतडी –बैतडी सहित सुदूरपश्चिममा आज ‘नरहरि’ पर्व मनाइँदै छ ।
माघेसङ्क्रान्तिलाई सुदूरपश्चिममा नरहरि पर्वका रुपमा मनाउने चलन रहेको छ ।
पौष मसान्तको राति मिठोमसिनो खाने, माघे सक्रान्तिको बिहानै नुहाइधुवाइ गरी कागलाई खानेकुरा चढाउने परम्पराले गाउँघरलाई सांस्कृतिक रौनकले भरिएको छ।
नरहरी पर्वमा कागलाई मिठा परिकार खुवाउँदा पाप नष्ट हुने धार्मिक मान्यता रहिआएको स्थानीय संस्कृतिका जानकार पण्डित खेमराज भट्टले बताए।
उनका अनुसार माघ महिना विशेष धार्मिक महिना मानिन्छ, जसमा सदाचार र संयमको महत्व दिइन्छ।
यस अवसरमा चामलको रोटी (माडा), झुनमुने तरुल, सेलरोटी लगायतका परिकार बनाएर खाने चलन छ।
पौष मसान्तमा पकाइने सेलरोटीमध्ये सबैभन्दा पहिला पाकेको रोटी कागलाई चढाइने परम्परा आज पनि ज्यूँका त्यूँ रहेको स्थानीय देव दत्त भट्टले बताए।
माघे सक्रान्तिको बिहान बालबालिकाहरूले ‘का कौवा का, मेरो रोटी खा’ भन्दै कागलाई बोलाएर खुवाउने दृश्य गाउँ टोलमा देख्न सकिन्छ।
कागलाई खबर आदान प्रदान गर्ने पक्षी तथा यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने परम्परा सुदूरपहाडको सांस्कृतिक पहिचान बनेको छ।
आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको पण्डित भट्ट बताउँछन् ।
कागले लगेर लुकाएको रोटीलाई ब्याउने गाईलाई खुवाए बाच्छाबाच्छी सपि्रने विश्वास समेत रहेको छ ।
माघमा माछा मासु खानु हुँदैन भन्ने चलन पनि पुस्तौंदेखि चलिआएको छ ।
पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन खाने प्रचलन अनुसार यसलाई ‘पुसको पाक्य माघको खाक्य’ पनि भन्ने गरिएको छ ।
पौष मसान्तमा तरुल खन्न जाने, राति पकाएर परिवारका सबै सदस्य एकै ठाउँमा बसेर खाने चलनसँगै आजदेखि माघस्नान सुरु भएको छ।
माघ महिना धार्मिक भएकाले माछा–मासु नखाने परम्परा पनि पुस्तौँदेखि चल्दै आएको छ।
नरहरी पर्वका बेला कामको सिलसिलामा बाहिरिएका मानिस घर फर्किने र विवाहित महिलाहरू माइती घर आउने भएकाले गाउँघरमा विशेष चहलपहल देखिएको स्थानीय राम विष्टले बताए ।
माघे सक्रान्तिका दिन तीर्थस्थलमा स्नान गरी तिल दान गर्नाले सुन दान गरेसरह पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ










प्रतिक्रिया दिनुहोस्