बैतडी – बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित जनकालिका बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदका लागि भएको निर्वाचनमा नेकपा उम्मेदवार प्रकाशबहादुर बोहरा विजयी भएका छन्।
सहकारी नेतृत्व चयनमा एमाले र नेकपाबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो।
शनिबार सम्पन्न निर्वाचनमा साविक नेकपा माओवादी केन्द्रका दशरथचन्द नगर कमिटी उपाध्यक्ष एवं अहिले नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध जुझारु युवा बोहराले ३७६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुुन् ।
उनका प्रतिस्पर्धी एमाले दशरथचन्द नगरपालिका कमिटी अध्यक्ष मनोज बोहराले १७७ मत ल्याए।
प्रकाशबहादुर बोहरा १९९ मतको फराकिलो अन्तरले विजयी भएका छन्।
कुल ५५८ जना सेयर सदस्यले मतदानमा सहभागिता जनाएका थिए।
सहकारीको २६औँ वार्षिक साधारणसभामा अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।
अध्यक्ष बाहेकका अन्य पदहरू भने सर्वसम्मत रूपमा चयन गरिएका सहकारीका कार्यकारी प्रमुख प्रेमसिंह बोहराले जानकारी दिए।
स्थानीय स्तरमा सहकारी निर्वाचनमा देखिएको यो प्रतिस्पर्धालाई राजनीतिक शक्ति परीक्षणका रूपमा हेरिएको छ।
सहकारी अध्यक्षमा निर्वाचित बाेहराले भारि मतका साथ विजयी गराउने सदस्यलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले निर्वाचित भए पछि सहकारी संस्थाकाे विकास र सेयर सदस्यहरुकाे भलाईका लागि काम गर्ने वचनवद्धता व्यक्त गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्