केशब भट्ट – बैतडी– बैतडीको सुर्नया गाउँपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत (हाकिम) विहीन हुँदा सम्पूर्ण प्रशासनिक कामकाज ठप्प बनेको छ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता तथा विकास निर्माणका कामहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।
पालिकामा कार्यरत शिक्षक प्रविन धामीका अनुसार तीन महिनादेखि तलब नपाउँदा जीवनयापन नै कठिन बनेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ (४) बमोजिम माघ २ गतेको निर्णयअनुसार शाखा अधिकृत जीतेन्द्र विकलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो।
तर, खटाइएका विक हालसम्म गाउँपालिकामा हाजिर भएका छैन्।
गाउँपालिकाका अनुसार विकलाई मन्त्रालयले खटाए पनि अहिलेसम्म हाजिर नभएकाले प्रशासनिक काम अगाडि बढाउन नसकिएको हो।
विकभन्दा अघि खटाइएका खगेन्द्र भारती समेत बाटोबाटै सरुवा भएपछि सुर्नया गाउँपालिका कार्तिक २६ गतेदेखि नै हाकिमविहीन अवस्थामा छ।
यता खटाइएका जीतेन्द्र विकले भने आफू सरुवा भएको औपचारिक जानकारी नपाएको र हाजिर हुने–नहुने विषयमा अन्योल रहेको बताएका छन्।
उनी हाल हुलाक कार्यालय कैलालीमा कार्यरत छन्।
सरुवा भएका हाकिम नै पालिकामा हाजिर नहुँदा जनप्रतिनिधिहरूले समेत तलब निकासा, भुक्तानी तथा निर्णय प्रक्रियामा वैकल्पिक व्यवस्था गर्न नसकेको भन्दै स्थानीय स्तरमा व्यापक जनगुनासो बढ्दै गएको छ।










प्रतिक्रिया दिनुहोस्