बैतडी- बैतडीका समाजसेवी भट्टले बुवाकाे पुण्यतिथिकाे अवसर पारेर भाेजन सेवा प्रदान गरेका छन् ।
आत्मबल, संघर्ष र मानवीय संवेदनाको अनुपम उदाहरण प्रस्तुत गर्दै जिल्लाकाे सुर्नया गाउँपालिका ३ गाेयलि घर भएका समाजसेवी नन्दराज भट्टले आफ्नो स्वर्गीय बुबाको वार्षिक पुण्यतिथिको अवसरमा सडकमा आश्रित ११३ जना बेसहारा नागरिकलाई भोजन सेवा प्रदान गरेका हुन् ।
पुर्ख्यौली घर बैतडीको सुर्नया गाउँपालिका–३ गोयली भई हाल धनगढी उपमहानगरपालिका–७ मा बसोबास गर्दै आएका नन्दराज भट्टले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित सहारा घर सडक मानव सेवा केन्द्रमा आश्रित आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई साेमवार बिहान भोजन गराएका हुन्।
स्वर्गीय रनी भट्टका जेठा छोरा नन्दराज भट्ट शारीरिक रूपमा अशक्त भए पनि सामाजिक मानवीयता, समाज रूपान्तरण र असहायप्रतिको सेवामा निरन्तर सक्रिय रहँदै आएका छन्।
उनकी आमा पार्वती भट्टका श्रीमान् स्वर्गीय रनी भट्टको बि.सं. २०७४ माघ २५ गते स्वस्थानी व्रत समापनपछिको फागुन कृष्ण अष्टमी तिथिमा निधन भएको थियो।
स्वर्गीय रनी भट्टका चार छोरा रहेका छन्।
सहारा घर सडक मानव सेवा केन्द्रका सञ्चालक बलबहादुर बिष्टका अनुसार,“नन्दराज भट्ट आफैं शारीरिक रूपमा अशक्त हुँदाहुँदै पनि समाजमा रहेका असहाय, बेसहारा र कमजोर नागरिकहरूको लागि गर्नुभएको सेवा र योगदान अतुलनीय छ। उहाँ समाजका लागि प्रेरणाको स्रोत हुनुहुन्छ।”
भोजन सेवा सम्पन्न भएपछि नन्दराज भट्टले भावुक हुँदै भने“मेरा आमाबुबाले मलाई पिठ्युँमा बोकेर पढाए, लेखाए र आज यो स्थानसम्म पुर्याउनुभयो। त्यो ऋण म आजीवन तिर्न सक्दिनँ।
तर स्वर्गीय बुबाको सम्झनामा सहयोगापेक्षित मानवहरूलाई एक छाक भोजन गराउन पाएकोमा मनबाटै आभारी छु। ती पवित्र आत्माहरूको आशीर्वाद रहिरहे आगामी दिनमा अझ उदाहरणीय काम गर्ने प्रण गर्दछु।”
नन्दराज भट्टको यो मानवीय कदमले समाजमा सेवा, करुणा र उत्तरदायित्वको सशक्त सन्देश दिएको छ।










प्रतिक्रिया दिनुहोस्