बैतडी – बैतडीमा चल्दो बसको ढोकाबाट खस्दा एक वृद्धको ज्यान गएको छ।
महेन्द्रनगरबाट बैतडी आउँदै गरेको सु.प.प्र. ०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका अन्दाजी ६८ वर्षीय पदमराज भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
दशरथचन्द राजमार्ग अन्तर्गत दशरथचन्द नगरपालिका–१ गुरुखोला स्थित मोडमा बिहीबार साँझ करिब पौने ५ बजे बसको ढोकाबाट खसेर भट्ट गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्याइएको थियो।
अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव हाल जिल्ला अस्पतालमै राखिएको छ।
जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तका अनुसार भट्टको टाउकोमा गम्भीर चोट लागेको र कानबाट अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनापछि बस र चालक दशरथ महरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्