images
images

नेकपाका उम्मेदवार परमानन्द भट्टकाे प्रतिबद्धता पत्र सार्वजनिक

बैतडी – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बैतडीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार परमानन्द भट्टले सोमबार आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

जिल्ला सदरमुकाम गोठलापानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले सुशासन, प्रणाली सुधार र रोजगारी सृजनालाई केन्द्रमा राख्दै आफ्ना एजेण्डा सार्वजनिक गरेका हुन्।

प्रतिबद्धता पत्रमा उनले सुशासनलाई पहिलो प्राथमिकता दिएका छन्। बजेट दुरुपयोग मात्र नभई सार्वजनिक सेवा प्रवाहमा हुने ढिलासुस्तीलाई समेत भ्रष्टाचारको रूप मान्दै उनले प्रशासनिक सुधारको आवश्यकता औंल्याएका छन्।

 

“नीतिगत र कानुनी व्यवस्थामा सुधार ल्याउन सके विकास आफैं अगाडि बढ्छ,” भट्टले भने।
हालको शासकीय संरचनाले आर्थिक भार मात्र थपेको दाबी गर्दै उनले जिल्ला समन्वय समिति लगायतका अनावश्यक संरचना खारेज गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

शासन प्रणालीलाई व्यवस्थित र परिणाममुखी बनाउनुपर्नेमा उनको जोड छ।
रोजगारी सृजनाका लागि पश्चिम सेती परियोजना, झुलाघाट मोटरेबल पुल र महाकाली करिडोर जस्ता ठूला परियोजना सञ्चालनमा ल्याउनुपर्ने उनले बताएका छन्।

साथै ग्रामीण सडक कालोपत्रे, आधुनिक कृषिमा आधारित उत्पादन र वनपैदावारमा आधारित उद्योग विस्तारबाट स्थानीय युवालाई रोजगारी सिर्जना गर्ने योजना रहेको उल्लेख गरेका छन्।

बैतडीमा खानी तथा खनिजको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले खानी उत्खनन र प्रशोधन उद्योगमार्फत आर्थिक गतिविधि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिबद्धता पत्रमा जिल्लाका मुख्य सडक सञ्जाललाई स्थानीय तहका केन्द्रसम्म कालोपत्र गर्ने, ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार गर्ने तथा बढ्दो बसाइँसराइ रोक्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।

निर्वाचन मात्र परिवर्तनको अन्तिम उपाय नभएको उल्लेख गर्दै भट्टले इमान्दार नेतृत्व र स्पष्ट नीतिमार्फत बैतडीको समग्र विकास सम्भव हुने दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS