images
images

बैतडी घर भएका वरिष्ठ साहित्यकार चन्दलाई वसुन्धराश्री पुरस्कार

बैतडी — वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले यस वर्षको प्रतिष्ठित वसुन्धराश्री  पुरस्कार वरिष्ठ साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानका कुलपति दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

उत्कृष्ट आधुनिक कथा, नाटक र निबन्धमार्फत नेपाली साहित्यलाई समृद्ध, सार्थक र समुन्नत बनाउन चन्दले पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उनलाई सम्मान गर्ने निर्णय गरिएको सदस्य–सचिव कृसु क्षेत्रीले जानकारी दिए।

विसं १९९७ मा बैतडीमा जन्मिएका चन्दका “विसर्जन”, “हिउँको तन्ना”, “बाह्रौँ खेलाडी”, “अपराजिता” र “नेताका साथीहरू” लगायतका कृतिहरू प्रकाशित छन्।

चार पटक मुलुकको प्रधानमन्त्री भइसकेका चन्दलाई नेपाली साहित्य र राजनीतिमा योगदान पुर्‍याउने स्वच्छ छवि र बहुआयामिक व्यक्तित्वका रूपमा समेत लिइन्छ।

पुरस्कारको राशि नगद ७५ हजार रुपैयाँसहित सम्मानपत्र रहेको प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्