बैतडी – वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका पञ्चेश्वर गाउँपालिका–१ का पालडी र लेकगाउँका स्थानीय अहिले निकै खुसी भएका छन् ।
गाउँमै खानेपानीको धारा पुगेपछि स्थानीयको वर्षौंदेखिको सास्ती अन्त्य भएको हो ।
यसअघि स्थानीयले तीन घण्टासम्म उकालो–ओरालो हिँडेर जर्किनमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता थियो । कतिपयले झरीको पानी ड्रम र पोखरीमा जम्मा गरेर दैनिक गुजारा चलाउने गरेका थिए ।
तर अहिले घर–आँगनमै धारा पुगेपछि स्थानीयको जीवनशैली नै फेरिएको छ ।
फिनल्यान्ड/युरोपियन युनियनको ८० लाख ३९ हजार ६ सय ५७ रुपैयाँ, गाउँपालिकाको ३६ लाख १४ हजार ५ सय ३१ रुपैयाँ र नेपाल सरकारको १४ लाख ४५ हजार ८ सय १२ रुपैयाँ गरी कुल १ करोड ३१ लाख रुपैयाँको लागतमा “पताललेक पालडी धुरा सोलार लिफ्ट खानेपानी योजना” निर्माण गरिएको हो ।
योजनामार्फत करिब २ हजार १ सय ४९ मिटर टाढाबाट पाइपमार्फत पानी ल्याइएको योजनाका अध्यक्ष गोरख सार्कीले बताए ।
हाल बस्तीमा १ सय २ वटा धारा जडान गरिएका छन् । चौबीसै घण्टा पानी आउन थालेपछि स्थानीयलाई ठूलो राहत पुगेको छ ।
“दुःखका दिन सकिएजस्तो लागेको छ,” स्थानीय भाना सार्कीले भनिन् ।
खानेपानी अभावका कारण स्वास्थ्य सेवा सञ्चालनमै कठिनाइ भइरहेका बेला अहिले स्वास्थ्यचौकीमा समेत सहज भएको पञ्चेश्वर स्वास्थ्यचौकी का प्रमुख सुरेश सार्कीले बताए ।
पहिले बोकेर पानी ल्याउनुपर्ने बाध्यता रहेको उनले सुनाए ।
पालडी र लेकगाउँमा ९८ घरधुरी, एक विद्यालय, एक स्वास्थ्यचौकी, सहकारी तथा वडा कार्यालय रहेका छन् ।
खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयको दैनिक जीवन सहज बनेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
गाउँपालिकाका अन्य क्षेत्रमा पनि पानीका मूल सुक्दै गएकाले नयाँ मूल खोज्ने, पुराना योजना मर्मत गर्ने र नयाँ योजना निर्माण गर्ने काम अघि बढाइएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले जानकारी दिइन् ।
खानेपानी योजना उद्घाटनका दिन स्थानीयहरूले बाजागाजासहित खुसीयाली मनाएका थिए ।








प्रतिक्रिया दिनुहोस्