पूर्वाधार वाच, काठमाडौं ।
आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्तले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको चैत मसान्तसम्मको तुलनामा यो वर्ष नाफा वृद्धि भएको छ । तर, खुद ब्याज आम्दानीमा भने कमी आएको छ ।
लघुवित्तले चैत मसान्तसम्म १८ करोड ५१ लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा २१ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंक तथा वित्तीय संस्थाको प्रमुख आम्दानीको स्रोत नै ब्याज आम्दानी हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म लघुवित्तले ११ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षकोभन्दा ३० प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिम यस्तो नाफा आठ करोड ६० लाख रुपैयाँ थियो ।
यो अवधिसम्म लघुवित्तको वितरणयोग्य मुनाफा आठ करोड ६१ लाख ८३ हजार रुपैयाँ छ । उक्त अवधिमा कम्पनीले १६ करोड एक लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ । गत वर्षको सोही अवधिमा यस्तो मुनाफा १२ करोड २८ लाख रुपैयाँ थियो ।
यो अवधिसम्म कम्पनीको खराब कर्जामा भने वृद्धि भएको छ । चालु वर्षको चैतसम्म कम्पनीको खराब कर्जा २.९९ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो खराब कर्जा १.३७ प्रतिशत थियो ।
अर्थतन्त्रमा आएको शिथिलता र लघुवित्तका ऋणीले समयमा साँवा ब्याज नतिरेपछि कम्पनीको खराब कर्जामा वृद्धि भएको हो ।










प्रतिक्रिया दिनुहोस्