images
images

नेपालको सार्वजनिक शिक्षाको यथार्थ—कोही मानून वा नमानून

लेखक-शिक्षक दयाकृष्ण  जाेशी( सेटी गाउँ मावि ककरपाखा बैतडी)

बैतडी-  काेहि मानुन वा नमानुन   आज हाम्रो सार्वजनिक शिक्षाको समस्या भवन, पाठ्यपुस्तक वा नारा होइन; मूल समस्या हो व्यवस्थापन र नेतृत्वको गहिरो असन्तुलन।

विद्यालयका प्रधानाध्यापकहरू शैक्षिक नेतृत्वकर्ता होइन, स्रोत र बजेटको खोजीमा दौडिन बाध्य “मागकर्ता” बनाइएका छन्।

उनीहरूको ऊर्जा कक्षा सुधारमा होइन, कार्यालयीय प्रक्रिया र निकाय धाउनमै खर्च भइरहेको छ।
शिक्षकलाई पढाउने जिम्मेवारी दिइएको छ तर निर्णय गर्ने अधिकार छैन।

शिक्षा चलाउने शक्ति कक्षाकोठामा होइन, बाहिरी प्रशासनिक संरचनामा केन्द्रित हुँदा शिक्षकहरू स्वतन्त्र पेशाकर्मी होइन, आदेश पालना गर्ने कर्मचारीजस्ता बनाइएका छन्।

परिणामस्वरूप सिर्जनशीलता, उत्तरदायित्व र पेशागत उत्साह तीनै कमजोर हुँदै गएको छ।

जति नीति बनाइए पनि, जति भाषण गरिए पनि, वास्तविक सुधार तब मात्र सम्भव छ जब शिक्षा प्रशासनको केन्द्रमा शिक्षकलाई राखिन्छ।

विद्यालय सञ्चालन, शैक्षिक योजना, मूल्यांकन र स्थानीय आवश्यकता अनुसार निर्णय गर्ने अधिकार शिक्षकलाई दिइनुपर्छ।

निजामती शैलीको नियन्त्रणले शिक्षा चलिरहँदा कागजमा सुधार देखिन सक्छ, तर कक्षाकोठामा गुणस्तर आउँदैन।

शिक्षा क्षेत्रलाई आदेशले होइन, शैक्षिक दृष्टिकोणले चलाउनुपर्छ।

जबसम्म शिक्षा चलाउने “रिमोट” कक्षाकोठाबाट टाढा रहन्छ, तबसम्म सुधारको चर्चा मात्र हुनेछ, परिणाम होइन।

नेपालको सार्वजनिक शिक्षा जोगाउने हो भने—शिक्षालाई शिक्षककै हातमा फर्काउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्