पूर्वाधार वाच, झापा ।
पूर्व–पश्चिम एशियन राजमार्ग अन्तर्गत रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरु भएको छ । एसियाली विकास बैंक आयोजना दमकका योजना प्रमुख सुनिलबाबु पन्तले काँकरभिट्टा–सीतापुरी पूर्वी खण्डको ४५ किलोमिटर क्षेत्रमा सो काम भइरहेको जानकारी दिए।
उहाँका अनुसार हाल कमल र केर्खा खोलामा पुलको पायल फाउण्डेसन गर्ने, सडकको चौडाइका लागि माटो भर्ने र कल्र्भट बनाउने काम धमाधम भइरहेको छ सडक किनारमा रहेका चार हजार सात सय ३० रुखमध्ये तीन हजार छ सय रुखसमेत कटान गरिसकिएको छ ।
दुई लेनको सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरु गरिएको एशियन राजमार्गको सो सडक खण्डमा एक सय ४० वटा कल्भर्ट र २१ वटा पुल निर्माण हुने राससलाई जानकारी दिए ।
एशियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सीतापुरीलाई पूर्वी खण्ड र सीतापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । उनका अनुसार पूर्वी खण्डको ठेक्का पाएको एभ्रासकन कालीका जेभीले तीव्र रुपमा काम गरिरहेको छ ।
“काम तीव्र रुपमा भइरहेको छ”, उनले भने, “रुख काट्ने कार्य अन्तिम चरणमा पुगिसक्यो । अब पुल र कल्र्भटको काम पनि द्रतगतिमा भइरहेको छ ।”
एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकरभिठ्ठदेखि केर्खासम्मको सडक करिब रु १० अर्बको लगानीमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको योजना प्रमुख पन्तले बताए ।
एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेची पुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेको छ । फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण हुने, पूर्वी नाकाबाटस्थल मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने जनअपेक्षा रहेको छ ।
उनले एशियन हाइवेमा पर्ने ठूला साना नदीमा लगाइएका पुराना पुललाई यथावत् राखेर त्यसैमा दुई लेनका पुल थप गरिने जानकारी दिए। तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु भएको सडक अन्तर्राष्ट्रिय मापदण्डको हुनेछ । काँकरभिठ्ठ–लौकहीसम्मको ९६ किलोमिटर सडक निर्माण पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्