images
images

सगरमाथामा जलवायु परिवर्तनका कारण जोखिम बढेको हो ?

पूर्वाधार वाच, काठमाडौं ।

‘यो हिमाल हो कि चट्टान मात्र भएको पहाड ?’

अनुभवी पर्वतारोही फुर्वा तेन्जिङ शेर्पा हालैका वर्षहरूमा हिमालयको बदलिँदो रूप देखेर चिन्तित छन्। हिमालयको काखमा रहेको रोल्वालिङस्थित आफ्नो घरको झ्याल खोल्दा विगतमा देखिने सेतो हिउँले ढाकिएको हिमालको दृश्य उनको स्मरणमा ताजै छ।

‘हरेक जाडो मौसममा त्यहाँ पटकपटक ठूलो हिमपात हुन्थ्यो। हिउँको थुप्रोले मानिसनै पुर्ला जस्तो हुन्थ्यो। तर अहिले त्यस्तो हुँदैन। हिउँददेखि लिएर वैशाखसम्मै सेताम्मे हुने हिमालहरू अचेल काला चट्टानजस्ता देखिन्छन्,’ उनले भने।

अर्का अनुभवी आरोही छिरिङ पेम्बा शेर्पा यस हिउँदमा पर्याप्त हिमपात नभएकाले सगरमाथा आरोहणमा अप्रत्याशित जोखिम हुन सक्ने चिन्ता व्यक्त गर्छन्।

‘यसपालि वसन्त आरोहणको मौसममा हिउँको खाडल खर्पास (क्रिभास)माथि पातलो हिउँ मात्र होला, त्यसमा खस्ने जोखिम बढ्छ,’ उनले भने।

गत वर्ष खुम्बु आइसफल क्षेत्रमा ज्यान गुमाएका आफ्ना तीन शेर्पा साथीलाई सम्झँदा उनको अनुहार मलिन हुन्छ। ती तीन जना त्यहीँको खर्पासमा खसेको उनको अनुमान छ। बढ्दो तापक्रमको प्रभावका कारण हरेक वर्ष खर्पास अर्थात् बरफमा परेका चिरा फराकिलो र अझ खतरनाक हुँदै गइरहेका ठानिन्छ।

छिरिङ पेम्बा शेर्पाले १० र फुर्वा तेन्जिङ शेर्पाले १५ पटक सगरमाथा आरोहण गरिसकेका छन्।दुवै जना यो वसन्त याममा पनि सगरमाथा चढ्ने सुरमा छन्। तर उनीहरू चिन्तित पनि छन्। उनीहरूको चिन्ताको एउटा ठूलो कारण हिमालय क्षेत्रमा यस हिउँदमा कम मात्रामा हिमपात हुनु हो।

उनीहरूको विचारमा यसले आरोहीहरूको काम अझ कठिन र जोखिमपूर्ण बनाउन सक्छ।

‘आरोहण जोखिमपूर्ण’

आङ सार्की शेर्पा अनुभवी ‘आइसफल डाक्टर’ हुन्। उच्च दक्षता भएका अनुभवी आरोहीहरू हिमालमा डोरी मिलाउन र प्रत्येक मौसममा आरोहणको बाटो तय गर्न खट्छन्।

उनीहरू अन्य आरोहीहरूभन्दा धेरै अगाडि सगरमाथा क्षेत्र पुग्छन्। उनीहरू नै ‘आइसफल डाक्टरु हुन्। ूहरेक वर्ष हामीले खर्पासहरू अझ फराकिलो हुँदै गएको र खतरा बढ्दै गएको पाउँँछौँ,’ उनले भने।

दुवै आरोही छिरिङ पेम्बा शेर्पा र फुर्वा तेन्जिङ शेर्पा यसमा सहमत छन्। ‘जब हिउँदमा हिउँ कम परेको हुन्छ, खर्पासहरू एकदम पातलो गरी ढाकिएका हुन्छन्। त्यसमा गल्तीले टेकिने र खसिने सम्भावना धेरै हुन्छ। खुम्बु आइसफल क्षेत्रमा यस्तो खतरा बढी देखिन्छ,’ छिरिङ पेम्बा शेर्पाले भने।

‘वास्तवमा आइसफलको एउटा क्षेत्र जसलाई हामीले फराकिलो र समतल भएकाले फुटबल मैदान भन्थ्यौँ, त्यो निकै सङ्कुचित भएको छ। अब त त्यहाँ मुस्किलले १०-२० पर्वतारोहीहरू मात्र अट्ने ठाउँ बाँकी छ।’

खुम्बु आइसफल क्षेत्रमा ‘सेराक’ भनिने ठूलाठूला आइसटावरहरू अस्थिर बन्दै गएका अनि खाल्डाहरू फराकिलो बन्दै गएको फुर्वा तेन्जिङ शेर्पा बताउँछन्।

‘परिणामस्वरूप आइसफल क्षेत्रमा वसन्त याममा पनि पानी बगिरहेका स-साना खोल्सा देख्न सकिन्छ – विगतको तुलनामा अनौठो दृश्य।’

हिउँ पग्लने उच्च दरका कारण ‘चिप्लो र पग्लँदो हिउँ’ माथि हिँड्नुपर्ने भएकाले आरोहणमा कठिनाइ थपिएको उनी बताउँछन्। केही स्थानहरूमा, बरफ पग्लँदा मुनिका चट्टानहरू देखिन्छन्।

‘हाम्रा आरोहणका सरसामान प्राय: बरफको सतहमा चढ्नका लागि उपयुक्त छन्। हामीले लगाउने क्र्याम्पन्स (हिमाल चढ्नका लागि लगाइने विशेष जुत्ताहरू) वा हामीले राख्ने डोरीहरू सबै कडा बरफमा काम गर्न डिजाइन गरिएका हुन्। ती अस्थिर हुँदा हाम्रो आरोहण पनि जोखिमपूर्ण बन्छ,’ सगरमाथाको उचाइ मापनको सरकारी अभियानमा संलग्न सर्वेक्षक खिमलाल गौतम भन्छन्।

‘यसले आरोहणमा दुर्घटनाको जोखिम बढाउन सक्छ किनभने बरफ पर्याप्त कडा नभएको खण्डमा क्र्याम्पनले राम्रो पकड पाउँदैन,’ दुई पटक सगरमाथा आरोहण गरिसकेका गौतमले भने।
अधिकारीहरू पनि यस क्षेत्रमा बढ्दो जोखिमलाई लिएर चिन्तित देखिन्छन्।

‘सन् २०१४ र २०१५ मा आएका ठूला हिमपहिरोपछि हामीले यस क्षेत्रलाई सुरक्षित बनाउन आरोहण मार्ग अलि दक्षिणतर्फ सारेका थियौँ,’ नेपाल सरकारको पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले भने।

हिमनदीहरूको अध्ययन गर्ने विधा ग्लेसिओलजीका विज्ञ एवं हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अध्ययन तथा पर्वतीय उचाइमा रहेको मौसम केन्द्र स्थापना गर्ने कार्यमा संलग्न प्राध्यापक पोल मेयुस्की आगामी दिनहरूमा आरोहण कार्य अझ कठिन हुने ठान्छन्।

‘हिमनदीहरू सङ्कुचित हुन थालेपछि झन् खतरनाक हुने छन् र हिमनदीहरूबाट बग्ने धाराहरू बढ्दै जाने छन्। उदाहरणका लागि, सगरमाथा आधारशिविरजस्ता ठाउँमा थप सिङ्कहोल (भ्वाङ) हुने छन्,’ अमेरिकाको मेन यूनिभर्सिटीका क्लाइमेट चेन्ज इन्स्टिट्यूटका निर्देशक प्राध्यापक मेयुस्कीले भने।

आङ सार्की शेर्पाजस्ता ‘आइसफल डाक्टरहरूू को भूमिका झनै महत्त्वपूर्ण र अझ खतरनाक हुने उनको अनुमान छ। किनभने ‘नाङ्गा चट्टानहरू देखिँदै जाँदा आरोहणको मार्ग परिवर्तन गर्नुपर्ने थप सम्भावना’ हुन्छ। साैजन्य : बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस्