images
images

गाैरा पर्वको मुख्य दिन आज अठ्यावली,हर्षोल्लासका साथ मनाइँदै

बैतडी-बैतडी सहित सुदूरपश्चिममा आज   गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । गौरा पर्वको मुख्य दिन आज अठ्यावलीअर्थात् अष्टमी हो । आजकाे  दिन गौराको पूजाआजा गरी मनाइन्छ ।

भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीको महान् पर्व गौरापर्वको पहिलो दिन महिलाहरूले घरघरमा तामाको भाँडामा बिरूडा (५ प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रूपमा सुरुवात गर्दछन् ।

भदौ शुक्ल पञ्चमीका दिन महिलाहरूले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरूडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ । भदौ शुक्ल पञ्चमीका दिन बिरूडा भिजाउने चलन रही आएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरूडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ।

भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजाअर्चना गरी विवाहित महिलाहरूले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ।

अठ्यावली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ । हिजो अमुक्ताभरण सप्तमीका दिन गौराघरमा भित्र्याइएको गौरालाई आज ब्रतालु महिलाहरूले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन छ ।

गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ।  देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ।

प्रतिक्रिया दिनुहोस्