जग्गाधनीबाट विभिन्न बाहानामा सार्कीले घुस लिइरहेका गुनासाे छ । छुट भएका जग्गा दर्ता गर्ने प्रक्रियाको सुरुवातदेखि सेवाग्राहीबाट घुस लिइरहनेको खुलेको हो ।
कार्यालय प्रमुख सार्कीले सेवाग्राहीलाई फोन गरेर, भेटेर मात्रै होइन कार्यालयमै घुस लिइरहेको अवस्थामा फेला परेका छन् ।
बुधबार पाटन नगरपालिका–८ का सेवाग्राही नर बहादुर बिष्ट र धन सिंह बिष्ट दाजुभाईबाट घुस लिएका हुन् । बिष्ट दाजुभाईले आमा परु बिष्टको नाममा रहेको जग्गा दर्ता गर्नको लागि कार्यालय प्रमुख सार्कीले परु बिष्टका छोरा धन सिंह बिष्टको हातबाटै १० हजार रुपैया घुस लिएका हुन् ।
यता कार्यालय प्रमुख सार्कीले भने मिटिङ भत्ता वाफत रकम लिएको बताएका छन् ।
यसअघि पनि पटकपटक सेवाग्राहीबाट पैसा लिएका प्रमुख सार्कीले बुधबारपनि काम गरेवाफत १० हजार घुस रकम लिएको सेवाग्राही बिष्ट बताउछन् ।
बिष्टबाट यसअघि पनि फाइल दर्ता गर्नेदेखि लालपुर्जामा जग्गा दर्तागर्ने प्रक्रियासम्म आइपुग्दा करिब ५१ हजारभन्दा बढी लिएको पाइएको छ ।
सुरुमा कार्यालयमा फाइल दर्ता गर्दा सूचना जारी गर्नको लागि भन्दै ५ हजार, त्यसपछि फिल्ड सर्जिमिनका बखत फिल्ड भत्ता भन्दै १० हजार, त्यसपछि ६ हजार २ सय, त्यसपछि कार्यलयमा मिलाउनुपर्ने भन्दै २० हजार र अन्तिममा काम गरिदिएवाफत १० हजार कार्यालयमै लिएको बिष्टको भनाइ छ । सेवाग्राही बिष्टलाई दुई महिना पहिले देखि नै बेलाबेला रकम लिइरहने गरेको खुलेका थिए ।
आफुले प्रक्रियागत तवरले कागजात पेश गर्दा पनि कार्यालय प्रमुख सार्कीले पैसा नदिए काम पनि नहुने भन्न थालेका बिष्टले बताएका छन् । जग्गा छुट दर्ताको काममा कुनै त्रुटी नभएपनि कार्यालय प्रमुख सार्कीले पैसा दिनैपर्ने भनेपछि कसैलाई जानकारी नगरी गोप्य प्रमाणहरु संकलनको लागि यो भिडियो बनाएको बताएका छन् ।
मालपोत नियमावली, २०३६ को नियम ४(क)मा ‘दर्ता गर्नसम्म छुट भएका जग्गा दर्ता गर्नुपर्ने’ व्यवस्था छ । उक्त नियममा नापनक्सा भएको तर दर्ता गर्नमात्रै छुट भएको जग्गा दर्ता गर्न पाउने व्यवस्था छ । सरकारले यस कार्यको लागि २ वर्षको समयावधि दिएको छ ।
सोही बमोजिम बैतडीमा पनि धेरै सेवाग्राहीले छुट जग्गा दर्ता लालपुर्जामा दर्ता गर्ने कामको लागि मालपोत कार्यालय धाइरहेका छन् । तर मालपोत कार्यालयमा यसरी खुल्लारुपमा घुस लिने गरेको पाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्