images
images

आजबाट एक महिने स्वस्थानी व्रत कथा प्रारम्भ

काठमाडौं – पौष शुक्ल पूर्णिमा नेपाली सनातन धर्मावलम्बी आज एक महिने श्रीस्वस्थानी व्रत शुरु गर्दैछन् ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत लिने परम्परा छ । विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गरेर उनको माहत्म्य सुन्ने गर्छन ।

व्रतको अन्तिम दिन माघशुक्ल पूर्णिमामा विशेष पूजा आराधना गरी अक्षता, फलफूल नैवेद्य, जनै, पान र सुपारीलगायत १०८ को संख्यामा चढाउने परम्परा छ । यसरी विधिपूर्वक व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

यो अवधिमा पाशुपत क्षेत्रस्थित गुह्येश्वरी, गौरीघाट र किरातेश्वर महादेवका मन्दिर व्रतालु पुग्ने गर्दछन । यस्तै गोकर्ण र साँखुस्थित शालीनदीलगायत स्थानमा पनि व्रतालुको घुइँचो लाग्छ ।

यी तीर्थस्थलको महिमा स्वस्थानी व्रतकथामा पनि बताइएको छ ।

विधिपूर्वक व्रत नबस्नेले पनि बिहान वा साँझमा स्वस्थानी व्रतकथा वाचन तथा श्रवण गर्ने गरिन्छ ।

सत्ययुगमा पार्वतीले भगवान् विष्णुको उपदेशमा स्वस्थानी व्रत बसेर महादेव पति पाएको उल्लेख छ । गोमा र चन्द्रावतीलगायत पात्रले स्वस्थानीको व्रत गरी इच्छाअनुसारको वरदान पाएको व्रतकथामा उल्लेख छ ।

काठमाडौंको उत्तर पूर्वीभेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदी र भक्तपुरको हनुमानघाटमा एकमहिने माधवनारायणको मेला पनि पौष शुक्ल पूर्णिमामै आरम्भ हुन्छ ।

श्रीस्वस्थानी र माधवनारायणव्रत माघ ३० गते समापन हुने छ ।

प्रतिक्रिया दिनुहोस्