बैतडी- बैतडीकाे सिउडेमा भाेलि भव्य मेला लाग्ने भएकाे छ।जिल्लाको सुर्नया गाउँपालिका २ सिउडे स्थित प्रसिद्ध धार्मीक तथा पर्यटकिय स्थल पाताल भुवनेश्वर धाममा भोलि शिवरात्रीका दिन भव्य मेला लाग्ने भएको हो ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पातालभुवनेश्वर धाममा प्रत्येक वर्ष महाशिवरात्रीको समयममा भव्य मेला लाग्ने गर्दछ ।
चारैतिर वनजंगलले घेरेको पाताल भुवनेश्वर धामको बीचमा रहेको प्राकृतिक तालको जल शिरमा चढाएर भक्त जनहरुले गुफाको दर्शन गर्ने गर्दछन् ।
सडकबाट झण्डै आधा किलोमिटरको दुरीमा रहेको पाताल भुवनेश्वरधाममा शिवरात्रिको दिन स्नान,शिवालयहरुमा धुपबत्ती र गुफाको दर्शन गर्ने हरुको भीड लाग्ने गर्दछ ।
शिवरात्रिका दिन सिउडे बजार देखि मन्दिर परिसर सम्म भोलि दर्शनार्थीहरुको भीड हुन्छ । पाताल भुवनेश्वर गुफा दक्षिण एसीयाकै लामो गुफा भएकाले यो ठाउँमा पछिल्लो समय दर्शनका लागि आउनेहरुको संख्यामा वृद्धि हुँदै गएको स्थानीय नरेन्द्र विष्टले बताए ।
यो मेलामा बैतडीका मात्रै नभएर छिमेकि जिल्लाहरु दार्चुला, बझाँङ, डडेल्धुरा र भारतबाट समेत नागरिकहरु दर्शनका लागि आउने गरेका उनले बताए ।
पाताल भुवनेश्वर धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । चोखो भोको रहेर धाममा धुपबत्ती गरे मनोकामना पूर्णहुने जनविश्वास रहिआएको युवा विष्टले बताए ।
शिवरात्रीको बेला मात्रै नभएर अन्य समयमा समेत पाताल भुवनेश्वर धाममा दर्शनार्थीहरु पुग्ने गर्दछन् । यो ठाउँमा विवाह, बर्तवन्ध समेत हुने गरेका छन् । पाताल भुवनेश्वर धाममा प्रचारप्रसारको कमिका कारण पर्यटक भित्रिन सकेका छैन्न् ।
यस्तै शिवरात्रि मेलालाई मध्यनजर गरेर बैतडीको प्रसिद्ध पाताल भुवनेश्वर धाम क्षेत्रमा मदिरा निषेध पनि गरिएको छ । मदिराका कारण मेलाको समयमा विभिन्न खालका घटनाहरु हुन सक्ने भएकाले मेलास्थल आसपासमा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको सुर्नया गाउँपालिका वडा नं २ का अध्यक्ष गणेश बहादुर विष्टले बताए ।
कसैले समितिको सूचना उल्लंघन गरी मदिराको कारोबार र सेवन गरेमा जरीवनासहित कानुनी कारवाही गरिने वडा कार्यालयले जनाएकाे छ ।
यस्तै पाताल भुवनेश्वर धाममा महाशिवरात्रीको अवसरमा भोलि धार्मिक प्रवचन हुने भएको छ ।
गएको असोजदेखि पाताल भुवनेश्वर धाममा तपस्यामा रहेकी गुरुमाले धार्मिक प्रवचन दिने कार्यक्रम तय भएको वडा अध्यक्ष बिष्टले बताए ।
भोलि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पाताल भुवनेश्वर धामको गेट नजिकै तयार गरिएको मञ्चमा धार्मिक प्रवचनको कार्यक्रम रहेको उनले बताए










प्रतिक्रिया दिनुहोस्