बैतडी-बैतडीकाे तडीगाउँमा खानेपानी याेजना अलपत्र परेकाे छ जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं – ३ तडिगाउँमा बजेट अभावले खानेपानी याेजना अलपत्र परेकाे हाे ।
४ वर्ष पहिले १२ लाखमा ट्याङ्की बने पनि बजेट अभावले याेजना अलपत्र छ । गाउँपालिका र प्रदेश सरकारले ‘एक घर एक धारा’ को नारा लगाएर निर्माण गरेको १२ लाख रुपियाँको खानेपानी योजनाको न पाइपलाइन छ न त धारा नै ।
३५ हजार घनमिटरको ट्याङ्कीभित्र पानी खोज्न जाँदा स्थानीयले बाँदरको जस्तो देखिने अस्थिपञ्चर फेला पारेका छन् । खानेपानी समयमै सम्पन्न नहुँदा स्थानीय टाढा टाढा गएर पानीकाे जाेहाे गर्न बाध्य छन्।
सुर्नया गाउँपालिका–३, तडीगाउँकाे बकरेपातल भन्ने ठाउँमा आव २०७७/०७८ मा गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारको समपूरक बजेटमार्फत १२ लाख रुपियाँमा सो खानेपानी योजना सुरु भएको थियो । योजनाको नाम खालीगैर–तपोवन लिफ्ट खानेपानी राखिएको थियो ।
गाउँपालिकाले टेण्डरमार्फत अनिरुद्र निर्माण सेवालाई सात लाख रुपियाँमा भुक्तानी दिने सर्तमा योजनाको जिम्मेवारी दिएको थियो ।
क्रमागत भनिएको योजनाको अहिलेसम्म पाइपलाइन, लिफ्ट सामग्री र धारा निर्माण हुन नसक्दा ३५ हजार घनमिटरको ट्याङ्की अलत्र परेको स्थानीय राजेन्द्र भट्टले बताउनुभयो ।
गाउँमा खानेपानीको हाहाकार भएका बेला ट्याङ्कीमा पानी नभएर बाँदरको जस्तो अस्थिपञ्चर भेटिएको उनले बताए ।
तडीगाउँको कोयल्ला टोलका ४० भन्दा बढी घरपरिवार आधा घण्टा ओरालो खालीगैर झरेर जर्किनमा पानी बोक्नु पर्दा साह्रै मर्का परेको स्थानीय जानकी भट्टले गुनासो गर्नुभयो ।
दैनिक पाँच सात खेप उकाली ओराली गरेर जर्किनमा पानी बोक्नु पर्दा ग्रामीण महिलाको दिनचर्या कष्टकर बनेको उनले बताइन्न।
गाउँ काकाकूल हुँदा पनि चार वर्षदेखि खानेपानी योजना अलपत्र छ । खानेपानीको ट्याङ्कीभित्र पानी हेर्न जाँदा ढेडुवा बाँदरको जस्तो कङ्काल देखिएको छ ।
प्रदेश सरकारसँगको साझेदारीमा समपूरक बजेटमार्फत खानेपानी योजना अघि बढे पनि पर्याप्त बजेट नआएका कारण योजना अलपत्र परेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
यो वर्ष प्रदेश सरकारसँग माग गरिने समपूरक योजनाको सूचीमा खानेपानी योजना समेटिने बताए ।










प्रतिक्रिया दिनुहोस्