images
images

काफल पाक्याे

बैतडी- काफल एक लोकप्रिय प्राकृतिक जङ्गली पहाडी फल हो।

यसको स्वाद मीठो हुन्छ। गर्मी मौसममा पहाडका वन पाखा जताततै काफल पाकेको हुन्छ। चैतदेखि जेठ महिनासम्म काफल पाक्छ।

तराईंमा जति जति गर्मीको राप चढ्दै जान्छ, पहाडका जङ्गलमा काफलको रङ पनि चढ्न थाल्छ। यसको फलको आकार लाम्चो र गोलो हुन्छ तथा स्वाद अमिलो मीठो। यस फलको रङ काँचोमा हरियो तथा पाकेपछि रातो र धेरै पाकेपछि बैजनी रङको हुन्छ।

यति बेला पहाडका जङ्गलमा चराले ‘काफल पाक्यो’ भने जस्तै गरी कराएको सुनिन्छ।
नेपाली समाजमा प्रचलित एउटा लोककथा छ, चारोको खोजीमा चरा आफ्ना बच्चा छाडेर अन्तै गएको थियो। पछि जङ्गलमा काफल पाक्यो। ती बच्चाले चारोको खोजीमा गएका आफ्ना आमा बुवालाई बोलाए ‘काफल पाक्यो, काफल पाक्यो’ ।काफलसँग ‘काफल पाक्यो’ चरीको सम्बन्ध छ।

काफल पाक्यो चरीको वैज्ञानिक नाम क्युकुलस माइक्रोप्टेरस हो। यो नेपाललगायत दक्षिण एसिया तथा पूर्वी एसियाका केही स्थानमा पाइने गर्छ। यो चरा समुद्री सतहबाट ३६०० मिटरसम्मको उचाइमा रहेका जङ्गलमा पाइन्छ।

यो घुमन्ते चराका रूपमा पनि चिनिन्छ।काफल गीत/सङ्गीतमा पनि प्रयोग भएको छ। हाम्रा थुप्रै लोकभाकाका गीतमा काफलको प्रसङ्ग जोडिएको छ। जस्तै ‘रेली खोला बगर, काफल पाक्यो लहर’, ‘काफल गेडी कुटुक्कै‘, ‘काफल पाक्यो होला वनमा’ ।

प्रतिक्रिया दिनुहोस्