images
images

बैतडीका स्थानीय तहमा २३ करोड बढि बेरुजु, कुन पालिकामा कति?

बैतडी- बैतडीका १० वटै स्थानीय तहमा २३ करोड बढि बेरुजु देखिएको छ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०।८१ को प्रतिवेदन अनुसार जिल्लाका १० वटै स्थानीय तहमा २३ करोड ४३ लाख ७० हजार बेरुजु देखिएको छ । ४ नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा प्रतिवेदन अनुसार दोगडाकेदार गाउँपालिकामा ०.८६ प्रतिशत सबैभन्दा कम र डिलासैनी गाउँपालिकामा सबैभन्दा बढी ५.१३ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै कम बेरुजु ल्याउने दोस्रोमा पुर्चौडी नगरपालिका रहेको छ । उसको १.१५ प्रतिशत बेरुजु देखिएको छ ।

बैतडी जिल्ला सदरमुकामस्थित दशरतचन्द नगरपालिकामा कुल १ अर्ब २६ करोड ९१ लख ५४ हजार रकमको लेखापरीक्षण गरिएकोेमा २ करोड २४ लाख ७१ हजार अर्थात १.७६ प्रतिशत बेरुजु रकम देखिएको छ ।

पाटन नगरपालिकामा १ अर्ब ४७ करोड ४६ लाख ३० हजार रकमको लेखापरीक्षण गरिएकोमा २ करोड ७७ लाख ९६ हजार अर्थात १.८८ प्रतिशत बेरुजु देखिएको छ । पुर्चौडी नगरपालिकामा १ अर्ब ७५ करोड ९३ लाख ६ हजार रकमको लेखापरीक्षण गरिएकोमा २ करोड १ लाख ९९ हजार अर्थात १.१५ प्रतिशत बेरुजु देखिएको छ । बैतडीका ४ वटा नगरपालिकामध्ये पुर्चौडीमा सबैभन्दा कम बेरुजु प्रतिवेदनले देखाएको छ ।

मेलौली नगरपालिकामा ९१ करोड ५ लाख ९८ हजारको लेखापरीक्षण गरिएकोमा ४ करोड ३२ लाख ४१ हजार अर्थात ४.७५ प्रतिशत बेरुजु रकम देखिएको छ । यो जिल्लाको डिलासैनी गाउँपालिकापछि बढी बेरुजु हो । त्यस्तै डिलासैनी गाउँपालिकामा सबैभन्दा बढी बेरुजु रहेको छ । डिलासैनीमा कुल १ अर्ब १० करोड ८१ लाख ५ हजारको लेखापरीक्षण गरिएकोमा ५ करोड ६८ लाख १५ हजार अर्थात ५.१३ प्रतिशत बेरुजु रहेको छ ।

दोगडाकेदार गाउँपालिकामा जिल्लाका स्थानीय तहहरुमध्ये सबैभन्दा कम बेरुजु देखिएको छ । दोगडाकेदारमा १ अर्ब ३० करोड ९३ लाख ७५ हजारको लेखापरीक्षण गरिएकोमा १ करोड १२ लाख ५७ हजार अर्थात ०.८६ प्रतिशत मात्रै बेरुजु रहेको छ । त्यस्तै पञ्चेश्वर गाउँपालिकामा ७२ करोड १२ लाख ४७ हजारको लेखापरीक्षण गरिएकोमा १ करोड १८ लाख ४८ हजार अर्थात १.६४ प्रतिशत बेरुजु रहेको छ । शिवनाथ गाउँपालिकामा ६९ करोड ७७ लाख ७२ हजारको लेखापरीक्षण गरिएकोमा १ करोड ६९ लाख ३ हजार अर्थात १.५३ प्रतिशत बेरुजु रहेको छ ।

सिगास गाउँपालिकामा १ अर्ब ४४ करोड ३३ लाख ७ हजारको लेखापरीक्षण गरिएकोमा १ करोड ४३ लाख ६ हजार अर्थात १.३७ प्रतिशत बेरुजु रहेको छ । सुर्नया गाउँपालिकामा १ अर्ब ८८ लाख ७१ हजारको लेखापरीक्षण गरिएकोमा १ करोड ५७ लाख ४४ हजार अर्थात १.५६ प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

महालेखापरीक्षक कार्यालयले बुधबार (हिजो) ६२ औं वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्